विपक्षी गठबन्धनलाई निरन्तरता दिने काँग्रेसको निर्णय, संशोधित निर्वाचन कार्यतालिका अनुमोदन

Spread the love

काठमाडौं, असार ४ (ई-रैवार) 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वैठकले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (शुक्रबार) बसेको केन्द्रीय समिति वैठकले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्य समितिले निष्कर्ष निकालेको बैठकपछि काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए । नेता महतले भने, ‘हामी चाहन्छौँ लोकतन्त्रको रक्षा होस् । संविधानको रक्षा होस् । र त्यसमा जो पार्टीहरू व्यक्तिहरु जोडिन चाहुनुहुन्छ, उहाँहरुलाई जोड्दै यसलाई अझ मजबुतका साथ अगाडि बढाउने छौं ।’

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् । पछिल्लो समय गठबन्धनले हरेक विषय साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न उठाएका थिए ।

केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा छलफल नगरी गठबन्धनको धारणा आएको भन्दै प्रश्न उठाएका थिए भने डा. शेखर कोइरालाले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

तर शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको छ । ‘दलहरुबीचको सहकार्यलाई अगाडि बढाउने प्रस्ताव आजको केन्द्रीय समितिले अनुमोदन गरेको छ,’ केन्द्रीय सदस्य एनपी साउदले भने, ‘लोकतन्त्र र संविधान जोगाउन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको हो ।’

काँग्रेस सभापति देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पाँच वटा घटक एक ठाउँमा आएको अवस्था छ । काँग्रेस, माओवादी, राजमो, माधव, उपेन्द्र पक्षबीच गठबन्धन बनेको छ । सोही गठबन्धनको समर्थनमा बहुमत सांसदको हस्ताक्षरसहित देउवाले सरकारमा दाबी गरेका थिए ।

यस्तै वैठकले आउँदो भदौ १६ देखि १९ गतेसम्म काठमाडौमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो ।
संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँनगर, र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नेछ ।

यस्तै एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने संशोधित निर्वाचन कार्यतालिका अनुमोदन गरेको हो ।

बैठकले असार मसान्तभित्र क्रियाशिल सदस्यता टुङ्गो लगाउन क्रियाशिल सदस्यता छानविन समितिलाई निर्देशन दिएको छ । यसअघिको असार ५ मा वडा, ७ मा गाउँनगर, साउन १ मा प्रदेशसभा क्षेत्रीय, ३ मा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ मा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने निर्वाचन कार्यतालिका रहेको थियो ।

यसअघिको निर्वाचन कार्यतालिकामा साउन १० र ११ गते प्रदेश अधिवेशन र भदौ ७ देखि १० गते केन्द्रीय महाधिवेशन गर्ने रहेको थियो । तर, क्रियाशिल सदस्यता टुङ्गो लगाउन नसकेपछि कार्यतालिका परिमार्जन गरेको हो ।