जसपा विभाजन हुने अन्तिम चरणमा, ठाकुर पक्षको ६ मन्त्रीसहित दुई राज्यमन्त्री सपथ लिने तयारी

जसपा विभाजन हुने अन्तिम चरणमा, ठाकुर पक्षको ६ मन्त्रीसहित दुई राज्यमन्त्री सपथ लिने तयारी
Spread the love

काठमाडौँ, जेठ १६ (ई-रैवार)

जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने अन्तिम चरणमा पुगेको छ । जसपामा अध्यक्ष उपेन्द्र यादव र ठाकुरबीच एक अर्कालाई स्पष्टिकरण सोध्ने र कार्वाही गर्ने प्रक्रिया चलिरहेका कारण विभाजनको अन्तिम चरणमा पुगेको हो।

अध्यक्ष ठाकुर र यादव पक्षले एकअर्कालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अन्यथा पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिएसंगै जसपा विभाजन हुने अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।

अध्यक्ष महन्थ ठाकुरसहित चार नेताले ३ दिनभित्र स्पष्टीकरण नदिएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले शनिबार पुनः २४ घण्टाभित्र जवाफ दिन माग गर्दै पत्र पठाएका छन्। यसलगत्तै अर्का अध्यक्ष ठाकुरले पनि यादवलाई उस्तै व्यहोराको २४ घण्टे अल्टिमेटम दिँदै स्पष्टीकरण दिन पत्र पठाएका हुन्।

दोस्रो पटक पुनः यो पत्र जुनसुकै माध्यमले प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण लिई आउन हुन अनुरोध छ ।’

यो पत्र प्राप्त गरेको म्यादभित्र चित्त बुझ्दो र सन्तोषजनक प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम निष्काशन समेतको कारवाही हुने चेतावनी अध्यक्ष ठाकुरले यादवलाई दिएका छन् ।

अध्यक्ष ठाकुर अर्का अध्यक्ष उपेन्द्र यादवले सोधेको स्पष्टीकरणको जवाफ नदिने बरु पार्टी अलग गर्ने मनस्थितिमा रहेको बुझिएको छ । ठाकुर निकट एक नेताले भने, ‘यो सधैको किचकिच भन्दा आ–आफ्नो बाटो लाग्दा नै बेस हुन्छ ।’

अध्यक्ष ठाकुर जसपामै आधिकारिकता खोज्ने कि राजपा नेपाल ब्युँत्याउने भन्ने छलफलमा जुटेका छन् । आफ्ना निकट नेताहरुलाई राजपा नेपालको विधान तयारी गर्न पनि उनले लगाएका छन् ।

उपेन्द्र यादवले चाल्ने कदमपछि निर्णय लिने प्रतिक्षामा ठाकुर रहेको बुझिएको छ । ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्राले उपेन्द्र यादवबाट स्पष्टीकरणको जवाफ पर्खिइरहेको बताए ।

यसैबीच, अध्यक्ष ठाकुर पक्षसंग प्रधानमन्त्री ओलीको ६ मन्त्री र दुई राज्यमन्त्री दिने सहमती भइसकेको स्रोतको दावी छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गरेको जसपाको महन्थ ठाकुर पक्षका केही नेता एक दुई दिनभित्रै सरकारमा सहभागी हुंदैछन् ।

जसअनुसार जसपाबाट एक दुई दिनभित्रै ५ जना मन्त्रीले सपथ लिने तयारी छ । ‘आज भोलीमै जसपाका केही नेताहरु सरकारमा जानुहुन्छ, त्यसका लागी छलफल अन्तिम चरणमा पुगिसकेको छ । सपथ आज वा भोलीभित्रै होला ।’ जसपा अध्यक्ष ठाकुर निकट स्रोतले बतायो ।

जसपाका नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा र उमाशंकर अरघरियाले मन्त्रीको रुपमा सपथ लिंदैछन् । गृहमन्त्रालयको दावी गरेका महतो उपप्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रुपमा सपथ लिने तयारीमा छन् । त्यसैगरी संचारमन्त्रीमा यादवको दावी छ ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रामबहादुर थापालाई नियुक्त गर्ने तयारी गरेका छन् । पुर्व माओवादी नेताहरु टोपबहादुर रायामाझी, लेखराज भट्ट र प्रभु शाहले पनि मन्त्रीको सपथ लिंदैछन् ।

उपप्रधानमन्त्री समेत रहेका एमाले महासचिव ईश्वर पोखरेलसहितका एमालेका केही मन्त्री विदाई हुंदैछन् भने राप्रपाका नेता कमल थापा मन्त्रीका रुपमा ओली नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना छ । माओवादी केन्द्रबाट मन्त्री भएका मणी थापा र गौरीशंकर चौधरीले आजै डेरा सर्ने तयारी गरिसकेका छन् ।

त्यसैगरी प्रतिनिधिसभा विघठनसम्बन्धीको मुद्दा सर्वोच्चले फैसला गरेलगत्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट समेत सरकारमा सहभागीता हुने वुझिएको छ । प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरेको स्रोतको दाबी छ।