राष्ट्रियसभा सदस्य पदका लागि हेटौंडामा मतदान सुरु, साँझ ५ बजेबाट मतगणना गर्ने

राष्ट्रियसभा सदस्य पदका लागि हेटौंडामा मतदान सुरु, साँझ ५ बजेबाट मतगणना गर्ने
Spread the love

हेटौंडा, जेठ ६ (ई-रैवार)

राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा मतदान सुरु भएको हो ।

बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करिब सवा नौ बजेबाट मतदान सुरु भएको छ । स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरे । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् ।

राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) हुन् । त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले एमालेका उमेदवार र राष्ट्रिय जनमोर्चा (राजमो)ले गठबन्धनका उमेदवारलाई सघाउने घोषणा गरेको छ ।

प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना सुरु गर्ने योजना छ । मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।