प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाए

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाए
Spread the love

काठमाडौं, वैशाख २४ (ई-रैवार) 

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक बालुवाटरमा बोलाइएका हुन ।

प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएको परिषदका एक सदस्यले जानकारी दिए । उनले विभिन्न आयोगमा रिक्त पदपूर्ति गर्न बैठक बोलाएको बताए । उनका अनुसार लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त छन् ।

संवैधानिक आयोगमा नियुक्तिका लागि यसअघि प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख उपस्थित भएका थिएनन् । उनीहरु सहभागी नभएपछि ओलीले परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएर नियुक्ति गरेका थिए ।

अहिले फेरि सरकारले अध्यादेशमार्फत नियुक्ति गर्न लागेको हो । नयाँ अध्यादेशअनुसार बहुमतका आधारमा परिषद्ले पदाधिकारी नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था छ । केही दिनअघि मात्रै राष्ट्रपतिले परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बहुमतले निर्णय गर्न सक्ने उल्लेख छ । बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी नहुने बताइएको छ ।