कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने

कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने
Spread the love

काठमाडौं, वैशाख २१ (ई-रैवार)

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको बैठकले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिँदा त्यसको विपक्षमा उभिने निर्णय गरेको हो ।

सभापति देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

‘विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ,’ उनले भने, ‘पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने हो। त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुन्छ।’ उनले कांग्रेसले आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतमा संसदको विश्वास नहुने अवस्था निर्माणका लागि पहल गर्ने पनि जानकारी दिए ।

काँग्रेसले बैठकमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको  कडा विरोध गरेको छ । काँग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै कडा विरोध गरेको सहमहामन्त्री महतले बताए।

यस्तै कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रियसभा निर्वाचनमा माओवादीसँग ‘एलाइन्स’ गर्ने पनि निर्णय गरेको छ । राष्ट्रियसभामा खाली भएका सिटमा एक–एक सिट हुने गरी गठबन्धन गर्ने निर्णय गरेको छ ।

यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले छुट्टै विज्ञप्ति समेत निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक भएको उनको भनाइ छ । ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ’, देउवाको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिने बताएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद बैठक आह्वान भइसकेको छ। कांग्रेसले ओली सरकार हटाउन अरू दलसँग पनि पहल गर्ने निर्णय गरेको छ।