धनगढी, वैशाख २१ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७४ नमूना परीक्षण गर्दा सोमबार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ३७४ नमूना जाँच गर्दा १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।
सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढीका ८४ जना, धनगढी बाहेक कैलालीका ५६ जना र अन्य जिल्लाका ३५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल सेती प्रादेशिक अस्पतालमा ५० जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये ३ जनालाई भेन्टिलेटर ९ जनालाई आइसीयु राखिएको छ । ३३ जनालाई अक्सिजन दिइएको छ । ५ जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १२ जना निको भई घर फर्किएका छन् भने थप १२ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
कोरोना संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा सोमबार ६ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।


