एनएसएल : रन्जनको गोलमा ललितपुर हारबाट जोगियो

एनएसएल : रन्जनको गोलमा ललितपुर हारबाट जोगियो
Spread the love

काठमाडौं, वैशाख १६ (ई-रैवार)

ललितपुर सिटी एफसी र धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ललितपुर र धनगढीले १–१ गोलेको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

धनगढीका ओलावाले ओलाडिपो आफिजले गोल गर्दा ललितपुरका रन्जन विष्टले बराबरी गोल फर्काएका थिए ।

खेलको पाँचौ मिनेटमा मार्की खेलाडी तथा कप्तान अन्जन विष्टले गोल गरेपनि उनको गोलले मान्यता पाएन । नविन लामाको पासमा विमल रानाको प्रहारलाई धनगढीका कप्तान तथा आइकोनिक खेलाडी किरण चेम्जोङले नियन्त्रणमा लिन नसक्दा रिवाउन्डमा आएको बललाई अन्जनले जाली चुमाएपनि उनी त्यसअघि नै अफसाइड पोजिसनमा रहेका थिए ।

२२औं मिनेटमा भिलिम पोसिलिन्कोभिकको प्रहारलाई गोलरक्षक किरणले सहजै नियन्त्रणमा लियो । २७औं मिनेटमा नविन लामाको फ्रिकिकलाई पाल्साङ लामाले ब्याकहिलमार्फत दिएको पासलाई एरिक विष्टले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा ललितपुर अग्रता लिनबाट चुकेको थियो ।

४२औं मिनेटमा अन्जन विष्टको प्रहारलाई दिनेश राजवंशीले गोललाइनबाट क्लियर गर्दा ललितपुर अग्रता लिनबाट चुक्यो । ४३औं मिनेटमा कप्तान किरण चेम्जोङले अन्जन विष्टलाई एल्वो प्रहार गरेपछि रेफ्रीले ललितपुरलाई पेनाल्टी प्रदान गरेको थियो । तर, ४४औं मिनेटमा नुर्लान नोब्रुजोभ जाहिदको पेनाल्टीलाई किरणले सहजै बचाउदै धनगढीको खतरा टारे ।

६०औं मिनेटमा विशाल राईको फ्रिकिकलाई ललितपुरका गोलरक्षक अर्पण कार्कीले पञ्च गर्दै बचाए । ६६औं मिनेटमा बुद्ध बल तामाङको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार आकासिदा धनगढी अग्रता लिनबाट चुक्यो । ७२औं मिनेटमा ओलावाले ओलाडिपो आफिजले गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाए । कर्नरबाट आएको बललाई गोलरक्षक अपर्ण कार्कीले पञ्च गर्ने प्रयास गर्दा क्लियर हुन नसकेको बललाई अशोक खवासले गरेको प्रहार अन्जन विष्टलाई डिफ्लेक्ट हुदा ओलावालेले हेडरमार्फत जाली चुमाएका थिए ।

७८औं मिनेटमा सब्सिच्युट रन्जन विष्टले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्सभित्रबाट गरेको भली प्रहार गोलरक्षक किरणले रोक्ने कुनै मौका नै पाएन । रन्जन विमल रानाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

ललितपुर सिटी एफसीका निरज बस्नेत इमर्जिङ प्लेय अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । धनगढीका दिनेश राजवंशी प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैया हात पारे ।

ललितपुरको यो दोस्रो बराबरी हो । यसअघि ललितपुरले एफसी चितवनसाग १–१ गोलको बराबरी खेलेको थियो । पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । धनगढीको यो पहिलो बराबरी हो । यसअघि धनगढी पहिलो खेलमा विराटनगरसँग ३–० ले पराजित धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्समाथि ३–० को जित निकालेको थियो ।

बराबरीमा रोकिएको धनगढी ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ४ अंक रहेपछि बुटवल लुम्बिनी शीर्षस्थानमा रहेको छ । बराबरीपछि ललितपुरले ३ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ । एक खेल कम खेलेको विराटनगर तेस्रो काठमाडौं चौथो र पोखरा पाँचौ स्थानमा रहेको छ । चितवन २ अंक जोडेर छैटौ स्थानमा रहँदा २ अंक जोडेको ललितपुर पुछारमा रहेको छ ।

लिगमा शुक्रबार काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुदैछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् । हाम्रो खेलकुदबाट