आईपीएल : राजस्थानमाथि मुम्बई इन्डियन्सको जित

आईपीएल : राजस्थानमाथि मुम्बई इन्डियन्सको जित
Spread the love

एजेन्सी, वैशाख १६ (ई-रैवार)

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले जित हात पारेको छ । साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

दिल्लीमा राजस्थानले दिएको १७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १७२ रन बनायो । ओपनर क्विन्टन डी कक ५० बलमा ६ चौका र २ छक्का सहित ७० रनमा अविजित रहँदै जित पक्का गरे । क्रुनाल पाण्ड्या २६ बलमा २ चौका र २ छक्का सहित ३९ रनमा बोल्ड आउट भए ।

ओपनर रोहित शर्मा १४ र सूर्यकुमार यादव १६ रनमा आउट भए । तेस्रो विकेटका लागि डी कक र क्रुनालले ४४ बलमा ६३ रनको साझेदारी गरेका थिए । काइरन पोलार्ड ८ बलमा २ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । राजस्थान रोयल्सका क्रिस मोरिसले २ र मुस्ताफिजुर रहमानले १ विकेट लिए ।

त्यसअघि दिल्लीमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसनले सर्वाधिक ४२ रनको योगदान दिए । युवा ब्याट्सम्यान यशस्वी जैसवाल र विकेटकिपर जस बटलरले पहिलो विकेटका लागि ७.४ ओभरमा ६६ रनको साझेदारी गर्दै राजस्थानलाई राम्रो सुरुवात दिलाएका थिए । स्पिनर राहुल चाहरले विकेटकिपर क्विन्टन डी ककबाट बटलरलाई ४१ रनमा स्टम्पिङ आउट गर्दै मुम्बईलाई पहिलो सफलता दिलाए ।

बटलरले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यशस्वी जैसवाल २० बलमा २ चौका र २ छक्का सहित ३२ रनमा क्याच आउट भए । तीव्र गतिका बलर ट्रेन्ट बोल्टले १८ औं ओभरको चौथो बलमा बोल्ड आउट गर्नुअघि कप्तान सञ्जु स्यामसनले २७ बलमा ५ चौका सहित ४२ रन जोडे ।

शिवम दुबे ३१ बलमा २ चौका र २ छक्का सहित ३५ रनमा जस्प्रित बुमराहबाट कटएण्ड बोल्ड आउट हुन पुगे । डेविड मिलर ७ र रियान पराग ८ रनमा अविजित रहे । मुम्बईका राहुल चाहरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुमराहको नाममा १–१ विकेट रह्यो ।

अंक तालिका

चेन्नई सुपर किंग्स ६ खेलमा ५ जित र १ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक सहित तेस्रो स्थानमा छ । साविक विजेता मुम्बई इन्डियन्स ६ खेलमा ३ मा हार र ३ मा जित सहित ६ अंक बटुल्दै चौथो स्थानमा छ ।

कोलकाता ६ खेलमा ४ मा हार र २ जित सहित ४ अंकका साथ पाँचौ स्थानमा छ । पन्जाब ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । मुम्बईले अव शनिवार चेन्नईसँग खेल्ने छ । राजस्थानले आइतबार हैदराबादसँग खेल्ने छ ।