काठमाडौं, वैशाख ९ (ई-रैवार)
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्ध एकजुट हुन आह्वान गरेका छन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन।
लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्ने बताए छन् ।
कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसङ्घर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति, विसङ्गतिलाई सङ्घर्षको माध्यमबाट किनारा लगाउने गरेको तथा नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिङ्गो राष्ट्रलाई समाजवादका लक्ष्यमा लामबद्ध गराउन सफल भएको उनले सन्देशमा उल्लेख गरेका छन् ।
देशको आर्थिक विकास, समृद्धि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन तथा कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको प्रचण्डको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा सबैलाई शुभकामना दिंदै प्रचण्डले शहीदहरुमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुमा सम्मान र घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।


