नेपाल पक्ष सांसदसहित छलफलमा, ओलीसँगको भेटबारे ब्रिफिङ गर्दै नेपाल

नेपाल पक्ष सांसदसहित छलफलमा, ओलीसँगको भेटबारे ब्रिफिङ गर्दै नेपाल
Spread the love

काठमाडौं, वैशाख ९ (ई-रैवार)

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार साँझ भेटवार्ता भएपछि एमालेका नेता नेपाल समूह सांसदहरुसहित आन्तरिक छलफलमा जुटेको हो ।

एक नेताका अनुसार नेपाल समूहको छलफल सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालयमा भैरहेको छ । छलफलमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गर्दैछन् । ओलीसँगको भेटपछि नेता नेपालले ‘साथीहरुसँग कुरा गरेर’ प्रतिक्रिया दिने बताएका थिए ।

यही वैशाख ७ गते ओलीले नेता माधव नेपालसहित २७ जनालाई दुई दिने स्पष्टीकरण सोधेका थिए । अध्यक्ष केपी शर्मा ओलीले तपाईलाई कारबाही किन नगर्ने रु भन्दै तीनदिने स्पष्टीकरण सोधेपछि जवाफ दिनुअघि छलफलमा जुटेका हुन् ।

अध्यक्ष ओली र नेता नेपालबीच बुधबार बेलुका नक्सालस्थित होटल मेरियटमा भेट गरेका थिए । दुई घण्टा बढी भएको छलफलमा भएको कुराकानी सार्वजनिक गरिएको छैन । तर, आज आफ्नो समूहमा छलफल गरेर त्यसबारे निर्णय लिइने नेता नेपालको तयारी छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बिहीबार बिहान भएको कार्यक्रममा अब गुटगतरुपमा वार्ता नहुने र भागबण्डा पनि नगरिने बताएका छन् । ‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ। तर समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन,’ उनले भने, ‘अब पार्टीमा गुट चल्दैन। दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन। बरू डोरी चुँडिएला कोही कतै जाँदैन।’

उनले पार्टीमा काम गर्न अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन्। ‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं। तर यसलाई कसैले कमजोरी नठानियोस्,’ अध्यक्ष ओलीले भने।