सुर्खेत, वैशाख ३ (ई-रैवार)
नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । अन्तिमसम्म केन्द्रको निर्णय पर्खिएको कांग्रेसले अन्तत: माओवादी केन्द्रको पक्षमा उभिने निर्णय गरेको हो ।
मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपछि प्रदेश सभा बैठकमा बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मत दिने बताए। राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भने, ‘हामीले मत दिँदा पनि मुख्यमन्त्रीलाई बहुमत त पुग्दैन नै।’
राप्रपाले भने कसको पक्षमा उभिने भन्ने निर्णय गरिसकेको छैन। कर्णाली प्रदेश सभामा राप्रपाका एक जना मात्र सांसद् छन्।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका ६ जना सांसद् छन्। एमालेका १९ जना (सभामुख बाहेक) सांसद् छन्। १९ प्रदेशसभा सदस्य भएको एमालेबाट फ्लोर क्रस नभए शाहीले विश्वासको मत पाउने छैनन् ।
कांग्रेससँगै राप्रपाले समेत साथ दिँदा पनि कर्णालीमा ठूलो दलका हिसाबले एमालेले नै सरकार गठन गर्न सक्छ। मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकार टिकाईराख्न आफ्नो पक्षमा २० मत ल्याउनुपर्ने हुन्छ।


