निर्वाचन आयोगद्वारा नेकपा दल खारेज : आयोगले भन्यो-एकता गर्ने भए १५ दिनभित्र निवेदन दिनू

निर्वाचन आयोगद्वारा नेकपा दल खारेज : आयोगले भन्यो-एकता गर्ने भए १५ दिनभित्र निवेदन दिनू
Spread the love

काठमाडौं, फागुन २५ (ई-रैवार)

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको राजनीतिक दल खारेज गर्ने निर्णय गरेको छ। मंगलबार बसेको आयोगको बैठकले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई एकीकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित हुन पत्र पठाउने निर्णय गरेको हो ।

आयोगको बैठकले सर्वोच्चको फैसालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएकाले साबिककै अवस्थामा १५ दिनभित्र एकताका लागि आयोगमा निवेदन दिन पत्र पठाउने निर्णय गरेको हो । आयोगको बैठकले नेकपा एमाले र माओवादी केन्द्र कायमै रहेको सूचना संसद सचिवालय र सातवटै प्रदेशसभालाई दिने निर्णय पनि गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

“आयोगको मिति २०७५।२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,” आयोगको विज्ञप्तिमा भनिएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलको नाममा रहेको कारण खारेज गरेपछि आयोगले पनि आज खारेजीको निर्णय गरेको हो। आयोगमा सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले र गोपाल तिवारी अध्यक्ष रहेको माओवादी केन्द्र दर्ता भएको छ ।