काठमाडौं, फागुन २५ (ई-रैवार)
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरिदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको छ ।
दुबै पार्टीले अलग-अलग बैठक र भेला गर्ने तयारी गरिरहेका छन् । सोमबार पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको अन्तिम बैठक बसेको छ । उक्त बैठकले एमाले र माओवादी केन्द्र अलग-अलग भएर अघि बढ्ने निर्णय गरेको छ ।
सर्वोच्चको फैसलापछि एमालेका कार्यकर्ताहरुले विभिन्न जिल्लामा आफ्ना पार्टी कार्यालहरु दाबी गर्दै बोर्ड फेर्नेक्रम पनि सुरु भइसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीको पद पनि अल्पतमा पर्ने देखिएको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् । उनले भने, “सर्वोच्चले नै एमाले र माओवादी केन्द्र अलग-अलग बनाइ दिएपछि अब हामीले त्यो निर्णयलाई मान्नुपर्ने बाध्यता छ । त्यसकारण अब प्रतिगमनको नेतृत्व गर्ने ओलीलाई प्रधानमन्त्री मान्न सक्दैनौं ।”
प्रधानमन्त्री ओली गणितीयरुपमा अल्पमतमा परिसकेको बताएका छन् । उनले भने, “प्रधानमन्त्री ओलीले आफू शक्तिशाली हुने अवसर गुमाइसक्नु भएको छ । उहाँहरु आफ्नै पार्टीभित्र पनि अल्पमतमा हुनुहुन्छ । संसद्मा बहुमत हुने कुरै भएन । संसद्मा पनि प्रधानमन्त्री ओली अल्पमतमै रहेका कारण अब विश्वासको मत लिनुपर्छ ।”
उनले पार्टीले आजभोलि नै प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिनेबारेमा औपचारिक निर्णय गर्ने जानकारी दिएका छन् । उनले थपे, “संसद्मा पनि माधव नेपालको नेतृत्व समूहको ४० प्रतिशत पुग्नसक्नेमा म विश्वस्त छु । त्यसकारण ओलीको पार्टी एमाले भन्नेभन्दा पनि माधव नेपालहरुको पार्टी भन्ने दिन चाँडै आउँछ ।” लेखाजोखा न्युजबाट


