एजेन्सी,मंसिर १७ (ई-रैवार)
अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली नभएको बताएका छन । बारले नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरे जस्तो धाँधलीको कुनै प्रमाण नभेटिएको बताएका हुन ।
ट्रम्पले आफू पराजित भएपछि धाँधलीको आरोप लगाइरहेका बेला महान्यायाधीवक्ता बारले चुनावमा धाँधली भए नभएको हेर्नका लागि न्याय विभागलाई निर्देशन दिएका थिए, ।
तर न्याय विभागले ट्रम्पको आरोप वा दाबीलाई सत्य सावित गर्ने कुनै पनि प्रमाण फेला नपारेको महान्यायाधीवक्ता बारले बताएका हुन् ।
कानून कार्यान्वयन निकायका प्रमुख बारले भनेका छन्, ‘अहिलेसम्म हामीले चुनावको नतिजा भिन्न पार्ने गरी धाँधली भएको कुनै पनि प्रमाण भेट्टाएका छैनौँ ।’
अहिलेसम्म पराजय स्वीकार नगरेका राष्ट्रपति ट्रम्पका लागि महान्यायाधीवक्ता बारको यो भनाई ठूलो धक्का भएको मानिएको छ ।
राष्ट्रपति ट्रम्प र उनको चुनावी अभियानले विभिन्न राज्यमा दायर गरेका मुद्दाहरु प्रमाणको अभावमा खारेज भएका छन् भने कतिपय मुद्धाहरुमा उनीहरुको विपक्षमा फैसला भएका छन ।
विभिन्न राज्यले नोभेम्बर ३ को चुनावमा राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितलाई औपचारिकता प्रदान गरिरहेका छन् ।
बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० मध्ये ३०६ इलेक्टोरल कलेज मत पाउने निश्चित भएको छ । पराजित भएका ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेका छ ।
पपुलर मत (कुल मत) मा बाइडेन ट्रम्प भन्दा कम्तिमा ६२ लाख मतले अघि छन् । नोभेम्बर ३ यता ट्रम्पले कुनै प्रमाण बिना लगातार चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।
महान्यायाधीवक्ता विलियम बारले कुनै पनि प्रमाण नभेटिएको जानकारीसहितको वक्तव्य जारी गरेपछि पनि मंगलबार ट्रम्पले लगातार ट्वीट गरेर कुनै पनि प्रमाण बिना चुनावमा धाँधली भएको आरोपहरु दोहोर्याएका छन ।
ट्रम्पका शीर्ष सहयोगी रहँदै आएका बारले अहिलेसम्म कुनै पनि ठूलो स्तरको धाँधली वा अपारदर्शिता नदेखिएको बताएको बिबिसीले जनाएको छ ।


