कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने प्रष्ट जनादेश छ, कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस् : प्रवक्ता शर्मा

कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने प्रष्ट जनादेश छ, कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस् : प्रवक्ता शर्मा
Spread the love

काठमाडौं, मंसिर ७ (ई–रैवार)

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेकोले भ्रममा नपर्न आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटवार्ता सम्बन्धी खबर आइरहेका बेला आइतबार अपरान्ह प्रवक्ता शर्माले कोही कसैलाई भ्रममा नपर्न भनेका हुन्।

नेकपाभित्र आन्तरिक विवाद भइरहेका बेला अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सभापति देउवालाई भेटेको र आगामी दिनमा सहकार्यको प्रस्तावसमेत राखेको दाबी सहितका चर्चा भइरहेको छ। तर यसतर्फ लक्षित गर्दै प्रवक्ता शर्माले नेकपाभित्रको द्वन्द्वसँग कांग्रेस निरपेक्ष रहेको उल्लेख गरेका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बेलुकी  ट्वीट गर्दै जनताबाट पाँच वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको उल्लेख गर्दै कांग्रेस सरकार परिवर्तनको पक्षमा नरहेको प्रष्ट्याएका छन् ।

“भ्रम : कोही कसैलाई केही छ भने ! ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अत : कुनै पनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसँग बिलकुल निरपेक्ष छौं । अत : यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं । जय नेपाल !,” उनले ट्विट गरेका छन् ।

‘नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं । अत: यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं,’ शर्माले भनेका छन्।

पार्टीभित्रै अल्पमतमा परेका प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री देउवासँग सम्बन्ध सुधारको प्रयास स्वरुप भेटवार्ता गरेको समाचार कांग्रेसकै नेताहरुलाई स्रोतका रुपमा उल्लेख गरेर विभिन्न सञ्चार माध्यमहरुमा छापिएका छन् ।

सञ्चार माध्यमहरुले नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले सत्तामा टिकिरहन राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको र त्यसका लागि कांग्रेसको साथ खोजेकोसमेत टिप्पणी गरिहेका छन् ।

तर, कांग्रेसले आफूलाई जनताबाट पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने प्रष्ट जनादेश पाएको प्रष्ट्याउँदै नेकपाको आन्तरिक द्वन्द्वसँग निरपेक्ष रहेको जनाएको छ ।

सञ्चार माध्यमहरुले सत्तारुढ नेकपा फुटको संघारमा पुगेपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवाको साथ खोजेको दाबी गरिरहेका बेला कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो ।