कोरोनाविरुद्धको खोप प्रतिडोज ३७ डलरसम्म पर्छ : मडेर्ना

कोरोनाविरुद्धको खोप प्रतिडोज ३७ डलरसम्म पर्छ : मडेर्ना
Spread the love

एजेन्सी,मंसिर ७ (ई–रैवार) 

कोरोनाविरुद्धको खोप निर्माता कम्पनी मडेर्नाले खोप प्रति डोज २५ देखि ३७ डलरसम्म पर्ने जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी स्टेफेन बान्सेलले जर्मन साप्ताहिक अखबार ‘वेल्ट एम सोन्टाग’ सँग कुरा गर्दै खोपको मूल्य अर्डरको परिमाणमा भर पर्ने बताए। मडेर्नाले आफ्नो खोप ९४ दशमलब ५ प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएको छ।

‘हाम्रो खोपको मूल्य फ्लु जत्तिकै पर्छ, जुन १० देखि ५० डलरसम्म पर्छ,’ उनलाई उद्दृत गर्दै समाचारमा भनिएको छ।

युरोपेली युनियनका अधिकारीहरुले २५ डलरभन्दा कम मूल्यमा दशौं लाख डोज आपूर्तिका लागि मडेर्नासँग डिल गर्न चाहेको बताएका थिए। कार्यकारी बान्सेलले भने, ‘हालसम्म कुनै सम्झौता भएको छैन, तर हामी युरोपेली आयोगसँग सहमतिको नजिक पुगेका छौं, हामी युरोपमा खोप डेलिभर गर्न चाहन्छौं।’ उनले केही दिनमै सम्झौता हुने पनि बताए।

कोरोनाविरुद्धको खोपका लागि इयु र मडेर्नाबीचको वार्ता गत जुलाईदेखि चल्दै आएको थियो।