काठमाडौं, मंसिर ७ (ई–रैवार)
नेकपा विवादको दसदिने मध्यान्तर सकिन ६ दिन बाँकी छ । मङ्सिर ३ गते सचिवालयको अर्को बैठक १० दिन पर धकेल्दै त्यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दस्तावेज लेख्ने समय दिइएको थियो । मङ्सिर ३ गते बसेको सचिवालय बैठकमा वरिष्ठ नेता नेपालले ओलीलाई दुई–तिन दिनभित्रै कार्यकारी अध्यक्ष प्रचण्डको दस्तावेज पढेर जवाफ दिन ओलीलाई आग्रह गरेका थिए ।
तर, बुँदाबुँदामा जवाफ दिनुपर्ने भन्दै ओलीले नै दस दिनको समय मागे । सचिवालयका बाँकी सदस्य त्यसमा सहमत भए । यसबीचमा प्रधानमन्त्री ओलीले तलतल (आधारभूत कमिटीमा) पार्टीले स्थगित गरेको जनताको बहुदलीय जनवादलाई बहसमा लैजाने र दस्तावेजलाई सँगसँगै अघि बढाइरहेको नेकपाका नेताहरू बताउँछन् ।
त्यसको पुष्टि शनिवारको चितवनको घटनाले गर्यो । चितवनको भण्डारामा राप्ती नगर कमिटीको बैठकको आयोजना गरिएको थियो । बैठकलाई सम्बोधन गर्दै चितवनका जनप्रतिनिधिसमेत रहेका पूर्वमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको अहिलेको वस्तुस्थिति र विवादको पृष्ठभूमि केलाउँदै थिए । ओली समूह असहिष्णु बन्यो ।
सुरेन्द्र पाण्डेकै शब्दमा ओली समूहले जगेर्ना गर्दै आएकाहरूले हुलहुज्जत र नाराबाजी गर्न थाले । कार्यक्रम विथोल्ने प्रयास गरे । पाण्डे मन्तव्यको उत्तराद्र्धमा पुगिसकेकाले सक्न भ्याए ।
यो घटनाले ओली समूह अराजकता र निषेधको राजनीतिकतिर प्रवेश गरेको पुष्टि भएको माधव नेपाल समूह बताउँछ ।
“ओली समूह पार्टी विभाजनको आधार खोजिरहेको छ । जबजलाई लिएर गइयो भने तलतलसम्म कार्यकर्तालाई विभाजित गर्न सकिन्छ र ध्रुवीकरण गर्न सकिन्छ भन्ने मनोगत चाहनाले काम गरिरहेको छ,” नेपाल समूहका एकजना नेता भन्छन्, “चितवन घटना त्यसकै उदाहरण हो ।”
भण्डारामा सुरेन्द्र पाण्डेविरूद्ध नाराबाजी गरिरहँदा ओली समूहले कर्णाली प्रदेशमा मदन भण्डारी स्पोर्टस् एकेडेमीको ब्यानरमा जबजकै बहस चलाइरहेको थियो । कार्यक्रममा मुख्य अतिथि थिए– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल । सुर्खेतस्थित घण्टाघरको सभाहलमा गरिएको कार्यक्रममा पार्टीको पछिल्लो विवादबारे बोल्दै नेताहरूले जबजमा एकट्ठा हुन आग्रह गरेको सहभागीहरूले बताएका छन् ।
त्योभन्दा अघि ओलीसमूहले प्रदेश १ मा पनि त्यस्तै प्रकृतिको भेला गरेको थियो । भेलालाई प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले नै सम्बोधन गरेका थिए । जबजलाई तलतलसम्म लैजान आग्रह गरेका थिए । त्यसका लागि मदन भण्डारी फाउन्डेसन सक्रिय बनाउनुपर्ने उनीहरूको जोड थियो ।
विकल्प खोज्दै ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित विकल्पबारे परामर्श बढाइहेको उनी निकटस्थहरू बताउँछन् । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमै संसदीय दलको बैठक फेस गर्ने सन्देश दिइसकेका छन् ।
“अब बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्ममत छ, के छ, कसको कस्तो छ भन्ने कुराहरु खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन । अब यसमा जानुपर्ने हुन्छ । यसको मैले एउटा जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्नका लागि मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ,” उनले बैठकमा भनेका थिए ।
तर, उनीसँग संसदीय दलमा बहुमत छैन । १ सय ७४ सदस्यीय संसदीय दलमा बहुमत जुटाउन ८८ सांसदको आवश्यकता पर्छ । तर, ओलीसँग १० जना संसद अपुग गरेको ओली पक्षको बुझाइ छ ।
“कदाचित् संसदीय दलको बैठक फेस गर्ने अवस्था आएमा मन्त्रिपरिषद् पुनर्गठन गरेर संसदीय दलमा बहुमत जुटाउने विकल्पमा जान सुझाएका छौं,” ओलीनिकट एक नेता भन्छन्, “पूर्वमाओवादी समूहका केही तटस्थ, मध्यमार्गी नेताहरू तान्न सकियो भने सहजै बहुमत जुटाउन सकिन्छ भन्ने आत्मविश्वासमा ओली देखिनुभएको छ ।”
देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायत नेताहरूलाई आफूतिर तान्न सके बहुमत जुट्नेमा ओली समूह ढुक्क देखिन्छ ।
त्यस्तै संसद् विघटन गरेर मध्यावधिमा जाने विकल्पमाथि पनि छलफल भइरहेको स्रोतको जिकिर छ । तर, त्यो आत्मघाती हुने भएकाले त्यतातिर नजान आग्रह गरिएको ओलीनिकट नेता बताउँछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि संसद् विघटनको विकल्प घातक हुने सुझाव दिइसकेकी छन् । उनले प्रधानन्यायाधीशसँग पनि यसबारेमा परामर्श गरेको स्रोतको जिकिर छ ।
“विकल्प सोच्न प्रचण्ड–नेपाल समूहलाई भन्दा ओलीलाई सजिलो छ,” ओलीनिकट ती नेता भन्छन्, “अन्तिम घडीसम्म पार्टी एकता जोगाउनुपर्छ । कदाचित् फुट्ने अवस्था आइलागेमा त्यसको अपजस उनीहरूले नै लिउन् । आधार उनीहरूले नै खडा गरून् ।”
दस्तावेज फिर्ता हुँदैन
पार्टी महासचिव विष्णु पौडेलसहित केही मध्यमार्गी नेताहरूले दस्तावेज फिर्ता गर्न प्रचण्डलाई दबाब बढाएका छन् । महासचिव पौडेल, सुवास नेम्वाङलगायत नेताहरूले भेटेरै आग्रह गरेका छन् । तर, यसपल्ट प्रचण्ड लचिलो बन्ने सम्भावना निकै कम छ । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले फिर्ता नलिन जोड दिइरहेकाले प्रचण्ड ब्याक हुने सम्भावना न्यून छ ।
दस्तावेज सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म लैजाने ओलीले पार्टी फुटाउने तयारी गरे त्यो फेस गर्ने मनोवैज्ञानिक तयारीमासमेत प्रचण्ड–नेपाल समूह छ ।
“पार्टी फुट्दैन । कसैलाई चोइटिएर जान मन छ भने गए हुन्छ,” सचिवालयका एक नेता बाह्रखरीलाई निष्कर्ष सुनाउँछन्, “कमिटीको बैठक बसौं भन्दा नमान्ने, छलफल गरौं भन्दा नमान्ने, बैठक बस्न सहमति देऊ भन्दा तोक लगाइदिन्छु भनेर अपमानित गर्ने ! हामीले अपमानको विष धेरै पियौं । अब यो भन्दा बढ्ता सहन सकिँदैन ।”
उनले सरकार पनि चलाउन नसक्ने, पार्टी पनि चलाउन नसक्ने नेतृत्व अब पनि राखिरहन नसकिने बताए । “पार्टी फुट्छ भनेर कतिञ्जेल डर पालेर बस्ने ? आन्दोलनलाई नै त मर्न दिनु भएन नि । जनताको भावनाको हत्या त गर्न सकिँदैन,” उनी आफ्नो तर्कमा अडिन्छन्, “हामी सबैले सोच–विचार गरिकन दस्तावेज ल्याएका हौं । हामीले प्रचण्डजीलाई पनि भनेका छौं– यसपटक पछाडि हट्नुहोला । पछाडि हट्यौं भने आत्महत्या बराबर हुन्छ ।”
उनले १३ गतेसम्म प्रधानमन्त्रीको जवाफ कुर्ने र त्यसपछि विधानको धारा ६० बमोजिम बहुमतको निर्णय पार्टी निर्णय मानेर अघि बढ्ने पनि जानकारी दिए । बाह्रखरीबाट


