सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ३ सय १८ पुग्‍यो

सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ३ सय १८ पुग्‍यो
Spread the love

धनगढी, कार्तिक ६ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ८ सय ३२ जनाको नमुना परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा नमुना परीक्षण गर्दा थप ५३ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ३ सय ३३ जनाको परीक्षण गरिएकोमा ५३ जनामा संक्रमण पुष्टि जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका २६ जना, टीकापुर नगरपालिकाका १५ जना, गोदावरी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। यस्तै कैलालीकै चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाका १–१ जना र ठेगाना नखुलेका २ जनामा समेत कोरोना संक्रमण देखिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकाका २–२ जना, शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिकाका १–१ जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ। १ सय ४ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ८ पुरुषमा कोरोना संक्रमण भेटिएको बताए।

पछिल्लो २४ घण्टामा बैतडीका थप ७ जनामा आज कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका २० वर्षीय पुरुष र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा दशरथचन्द नगरपालिकाका ४७, ३०, २१, २३ र २० वर्षीय गरी ५ जना पुरुष र २७ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो। बिहिबार थप सात जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ४ सय ६६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र बझाङ जिल्ला अस्पतालमा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ३ सय १८ पुगेको छ।  संक्रमित मध्ये ७ हजार ४ सय बढिले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ।