एजेन्सी, कार्तिक ६ (ई-रैवार)
इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ बनायो । राजस्थानले पहिलो विकेट चौथो ओभरको तेस्रो बलमा गुमाएको थियो । नन स्ट्राइकका ओपनर रोबिन उथप्पा रन लिन क्रिजको मध्यभागसम्म दौडिएपनि बेन स्टोक्सले पूरा हुने नदेखेपछि नलिन आग्रह गर्दा फर्किने क्रममा जेसन होल्डरको डाइरेक्ट थ्रोमा १९ रनमा रन आउट हुन पुगेका थिए ।
उथप्पाले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि बेन स्टोक्स र सन्जु स्यामसनले ५६ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउन खोजेका थिए । १२ औं ओभरको चौथो बलमा होल्डरले स्यामसनलाई ३६ रनमा बोल्ड आउट गरे । स्यामसनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरको पहिलो बलमा स्पिनर राशिद खानले बेन स्टोक्सलाई ३० रनमा बोल्ड आउट गरेपछि हैदराबाद खेलमा फर्किएको थियो । स्टोक्सले ३२ बलमा २ चौका प्रहार गरे ।
विजय शंकरले १६ औं ओभरको तेस्रो बलमा जस बटलर ९ रनमा शहबाज नदीमबाट क्याच आउट हुन पुगे । होल्डरको १९ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान स्टिभ स्मिथ लङअनमा मनिष पान्डेबाट १९ रनमा समातिन पुगे । स्मिथले १५ बलमा २ चौका प्रहार गरे । अर्को बलमा रियान पराग डेभिड वार्नरबाट २० रनमा क्याच आउट हुन पुगे । परागले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । जोफ्रा आर्चर १६ र राहुल टेवाटिया २ रनमा अविजित रहे । आर्चरले ७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
जारी सिजनमा पहिलो खेल खेलेका हैदराबादका अलराउन्डर जेसन होल्डरले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । विजय शंकरले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।


