आइपिएलमा तीव्र गतिका बलर कागिसो रबाडाको कीर्तिमान

आइपिएलमा तीव्र गतिका बलर कागिसो रबाडाको कीर्तिमान
Spread the love

एजेन्सी, कात्तिक १ (ई-रैवार)

दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडाले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमान बनाएका छन् । दक्षिण अफ्रिका रबाडाले स्पिनर सुनिल नारायण र तीव्र गतिका बलर लासिथ मलिङ्गाको कीर्तिमान तोड्दै आफ्नो नाममा कायम गरेका हुन् ।

रबाडाले शनिबार चेन्नई सुपर किंग्सविरुद्ध फाफ डु प्लेसिसको विकेट लिदै आइपिएलमा सर्वाधिक छिटो खेल र कम बलमा ५० विकेट पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

रबाडाले यस सफलता मात्र २७ खेलमा पूरा गरेका छन् । यसअघि आइपिएलमा सर्वाधिक छिटो ५० विकेट लिने कीर्तिमान सुनिल नारायणको नाममा थियो । नारायणले ३२ खेलमा पूरा गरेका थिए । लासिथ मलिङ्गाले ३३, इमरान ताहिरले ३५ र अमित मिश्राले ३७ खेलमा ५० विकेट पूरा गरेका थिए ।

रबाडा सर्वाधिक कम बल फ्याँक्दै आइपिएलमा ५० विकेट लिने बलर बनेका छन् । रबाडाले ६ सय १६ बलमा यस सफलता हात पारेका छन् । यसअघि मलिङ्गाले ७ सय ४९ बलमा उक्त सफलता हात पारेका थिए । सुनिल नारायणले ७ सय ६० र इमरान ताहिरले ७ सय ६६ बलमा उक्त सफलता हात पारेका थिए । मोहित शर्माले ७ सय ९७ बलमा ५० विकेट पूरा गरेका थिए ।

रबाडाले आइपिएलमा लगातार विकेट लिदै उच्च प्रर्दशन गर्दै आएका छन् । यस सिजनमा ९ खेलमा १९ विकेट लिदै पर्पल क्यापको बलियो दाबेदारका रुपमा छन् । गतवर्ष रबाडाले १२ खेलमा २५ विकेट लिएका थिए । गतवर्ष चोटको कारण लिग चरणका खेल नसकिंदै बाहिरिनु परेको थियो ।

दिल्लीका प्रमुख हतियार रबाडाले निरन्तर उच्च प्रर्दशन गर्दै दिल्लीलाई सफलता दिलाउँदै आएका छन् । २५ वर्षिय रबाडा वर्तमान समयका एक सर्वोत्कृष्ट तीव्र गतिका बलर हुन् । तीव्र गतिसँगै योर्करका लागि माहिर छन् । आइपिएलमा रबाडाले सन् २०१७ अप्रिलमा दिल्ली क्यापिटल्सबाट मुम्बई इन्डियन्सविरुद्ध वानखडे स्टेडियममा डेब्यु गरेका थिए ।