मुख्यमन्त्री शाहीसहित ५ जना नेतालाई कडा निर्देशन : ४८ घण्टाभित्र काठमाडौं बोलाइयो

मुख्यमन्त्री शाहीसहित ५ जना नेतालाई कडा निर्देशन : ४८ घण्टाभित्र काठमाडौं बोलाइयो
Spread the love

काठमाडौं, असोज २७ (ई-रैवार)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित कर्णाली प्रदेशका पाँच नेतालाई ४८ घण्टाभित्र काठमाडौं आइपुग्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलपछि दुई अध्यक्षले प्रदेशमा चरक बिवाद गर्ने दुवै पक्षलाई ४८ घण्टा अर्थात असोज २९ गतेभित्र काठमाडौं आउन निर्देशन दिएको हो ।

कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीबिरुद्ध संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ता भएपछि अघि बढेको बिवाद कायम राख्दा कर्णालीमा नेकपा नै समाप्त हुने निश्कर्षसहित अध्यक्षद्वय ओली र प्रचण्डले पाँच नेतालाई काठमाडौं बोलाएका हुन् ।

यसरी ४८ घण्टाभित्र काठमाडौं बोलाइएका नेताहरुमा मुख्यमन्त्री शाहीसहित अबिश्वास प्रस्ताव दर्ता गराउने मुख्य अभियानकर्ता नेकपा कर्णालीका सहइञ्चार्ज यमलाल कँडेल, आर्थिक मामिला मन्त्री तथा सहइञ्चार्ज प्रकाश ज्वाला, प्रमुख सचेतक गुवालजंग शाह र चन्द्रबहादुर शाहीरहेका छन । पाँचै जना नेतालाई २९ गते केन्द्रीय कार्यालय धुम्बाराहीमा आउन भनिएको छ ।

आइतबार दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद छताछुल्ल भएको छ ।अविश्वासको प्रस्ताव दर्ता भए पनि मंगलबार माधव नेपाल-प्रचण्ड समूहका कर्णालीका नेताबीच सहमति हुँदा अविश्वासको प्रस्ताव ‘फेल’ भएको छ ।

माधव नेपाल पक्षका ३ जनालाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका ७ सांसद फिर्ता भएका छन् । यसले गर्दा मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।