भर्चुअल करेन्सी र नेटवर्किङ कारोबार गरे कारबाही गर्ने राष्ट्र बैङ्कको चेतावनी

Spread the love

काठमाडौं :  नेपाल राष्ट्र बैङ्कले ‘भर्चुअल करेन्सी’ तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैङ्कले आज (आइतबार) एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा भर्चुअल करेन्सी तथा नेटवर्किङलगायत गैरकानुनी वित्तीय औजारमा आबद्ध भइ कारोबार गर्दा सर्वसाधारण ठगिने बैङ्कले जनाएको छ । 

अवैधानिक तरिकाले रकम बाहिरिइ स्वदेशी पुँजी पलायन हुने त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भइ नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।