ट्रम्पले लेखे – कोभिड रुघाखोकी जस्तै हो, फेसबूकले हटाइदियो पोस्ट

ट्रम्पले लेखे – कोभिड रुघाखोकी जस्तै हो, फेसबूकले हटाइदियो पोस्ट
Spread the love

एजेन्सी, असोज २१ (ई-रैवार)

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ रुघाखोकी जस्तै मात्र भएको भनी सामाजिक सञ्जालमा लेखेपछि फेसबूक र ट्विटरले पोस्ट हटाइदिएका छन् ।

कोरोनाभाइरससम्बन्धी गलत सूचना फैलाउन नपाइने नियमलाई ट्रम्पको पोस्टले उल्लंघन गरेको उनीहरूको जिकिर छ ।
फेसबूकमा २६ हजार शेयर भएपछि पोस्ट हटाइएको क्राउडट्यांगल नामक मेट्रिक टूलले देखायो ।

‘हामीले कोभिड–१९ को गम्भीरताका विषयमा दिइएको गलत सूचना हटायौं,’ फेसबूकका एक प्रवक्ताले रोयटर्स समाचार संस्थालाई बताए ।

फेसबूकले राजनीतिकर्मीहरूलाई थर्ड पार्टी फ्याक्ट चेकिङ प्रोग्रामबाट मुक्ति दिने गरेको छ । उसले ट्रम्पविरुद्ध दुर्लभै मात्र कारवाही गर्ने गरेको छ ।

अमेरिकामा नयाँ कोरोनाभाइरस देखापरेदेखि २ लाख १० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

लोकान्तरबाट