एजेन्सी, असोज १३ (ई-रैवार)
यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मंगलबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटलले आफ्नो तेस्रो खेल खेल्दै छ ।
सेख ज्यायद क्रिकेट स्टेडियममा हुने खेलमा दिल्लीले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्ली लगातार तेस्रो जित निकाल्ने योजनामा छ ।
पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको थियो । आजको खेलमा पनि दिल्ली हैदरावादलाई हराउने योजनामा छ ।
आजको खेलमा सन्दीपले खेल्ने सम्भावना कम छ । टिमले एक खेलमा जम्मा चारजना विदेशी खेलाडी खेलाउन पाउने भएकाले टिममा सन्दीपले स्थान पाउने सम्भावना कम छ । दिल्लीका लागि आज रविचन्द्र आश्विन पनि खेल्ने योजनामा छन् ।
भारतीय मिडियाले पनि आजको खेलमा सन्दीपलाई स्थान दिएका छैनन् । यता हैदरावाद पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलाेरसँग १० रनले पराजित भएको हैदरावाद दोस्रो खेलमा कोलकाता नाइट राडर्ससँग ७ विकेटले पराजित भएको थियो ।


