धनगढी, असोज ३ (ई–रैवार)
सुदूरपश्चिम प्रदेशमा शनिवार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दार्चुलाका २१, कैलालीका ११, डडेल्धुराका ३, बैतडी र बझाङका २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ का ४ जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ३ जना, वडा नम्वर ८ का २ जना, वडा नम्वर २ का १ जना, जानकी गाउँपालिका वडा नम्वर ६ का १ जना र बझाङको खप्तड छान्नाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
डडेल्धुरामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले शुक्रबार एक सय ८६ जनाको नमूना परीक्षण गर्दा डडेल्धुरा, बैतडी र दार्चुलाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
उनका अनुसार दार्चुलाको मार्मा गाउँपालिकाका २० जना, महाकाली नगरपालिकाका १ जना, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, अमरगढी नगरपालिकाका १ जना र बैतडीको पाटन नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय १२ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ७५ पुगेको छ। संक्रमण पुष्टि भएका ५ हजार सात सय २४ जनाले कोरोना जितेको दावी गरिएको छ भने १५ जनाको मृत्यु भएको छ।


