तंग्रिँदै सुदूरपश्चिमको पर्यटन

Spread the love

धनगढी : पहिलो पटक खप्तड पुगेका कलाकार पल शाहले खप्तड यात्राको वर्णन गरिएको श्रव्यदृश्य (भिडियो) आफ्नो पेजमा राखेका छन् । बझाङदेखि खप्तडसम्म पैदल यात्रा गरेका उनले भनेका छन्– ‘खप्तड साच्चै सुन्दर रहेछ । खप्तड पुग्न पैदल यात्रा गर्दाको थकाइ त्यहाँ पुगेपछि हरायो ।’

दुई महिनाअघि पल शाह र गरिमा पन्तलगायत कलाकारहरूको समूह एउटा गीतको छायांकनका लागि धनगढी हुँदै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड पुगेको थियो ।

कोरोना महामारीका कारण थिलथिलो भएको सुदूरपश्चिमको पर्यटन क्षेत्रमा केही सुधार हुने लक्षण देखिएको व्यवसायीहरूले बताएका छन् । संक्रमण दर घट्दा सरकारले लकडाउन अन्त्य गरेपछि यस प्रदेशका खप्तडलगायतका पर्यटन गन्तव्यहरूमा आन्तरिक पर्यटकहरूको आगमन संख्यामा वृद्धि हुन थालेको व्यवसायीहरूको भनाइ छ ।

यस प्रदेशका डोटी, अछाम, बाजुरा र बझाङको संगमस्थलमा रहेको भू–स्वर्ग उपमा पाएको खप्तड, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चाँदनीमा रहेको एसियाकै लामो झोलुंगे पुल, कैलालीमा चिसापानीस्थित कर्णाली पुलमा आन्तरिक पर्यटककको चहलपहल पढेको छ ।

त्यस्तै, घोडाघोडी ताल, टीकापुर पार्क, बाजुराको बडिमालिका, अछामको रामारोशन, बैद्यनाथ धाम, बैतडीको निङ्लासैनी, त्रिपुरासुन्दरी, डँडेलधुराको उग्रतारा, दार्चुलाको अपिनाम्पा हिमाल, मालिकार्जुन, बझाङको सैपाल हिमाललगायत प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा पर्यटक बढ्दै गएको यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ छ । ‘विगतका दुई वर्ष लगातारको कोराना महामारीका कारण तहसनहस भएको यहाँको पर्यटन क्षेत्र हाल आएर तंग्रिन थालेको देखिएको छ,’ नाटा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंह भन्छन्, ‘घुमघामका लागि भारतीय क्षेत्रबाट आउनेहरूको संख्या पनि बढ्न थालेको छ । दुई वर्षसम्म घुमघाम गर्नै नपाएकाहरू घुमघाममा निस्कन थालेको देखिएको छ । होटल व्यवसाय पनि चलायमान हुन थालेको छ ।’

कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलमबहादुर बमले सीमा नाकाबाट पहिलाजस्तो निर्बाध आवागमन हुन सके अवस्था अझै राम्रो हुने बताए । उनका अनुसार विगतको तुलनामा हाल १० प्रतिशत पर्यटक मात्रै बाहिरबाट आइरहेका छन् । पर्यटन व्यवसायी किशोर खड्काका अनुसार यस प्रदेशमा विदेशी पर्यटकको सबैभन्दा बढी रोजाइमा रहेका पर्यटनस्थल अपि र सैपाल हिमाल हुन् । विदेशी पर्यटकहरू धेरैजसो हिमाल आरोहण र पैदलयात्रा (ट्रेकिङ) गर्नमा रुचि राख्छन् । हाल अपि, सैपालको आधारस्थलसम्म पुग्ने पदमार्ग पनि निर्माण भइसकेको उनले बताए ।

विविधताले भरिपूर्ण यस प्रदेशमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, साहसिक (हिमाल आरोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ) लगायतका पर्यटन गतिविधिको प्रचुर सम्भावना रहेको भए पनि पूर्वाधारको विकास हुन नसकेको व्यवसायीहरू औंल्याउँछन् ।

‘प्रदेश पर्यटन ऐन आइसकेको छ । पर्यटन विकास गुरुयोजना पनि तयारीको अन्तिम चरणमा छ,’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रहेको पर्यटन इकाईका प्रमुख भोजराज पाठकले भने ‘सुदूरपश्चिमको पर्यटन विकासका लागि अझै थुप्रै काम गर्नुपर्ने खाँचो छ ।’

मन्त्रालयले दुई वर्षअघि खप्तड, डोटीको बडिकेदार, अछामको रामारोशन र वैद्यनाथ क्षेत्रको पूर्वाधार विकास तथा प्रवर्द्धनका लागि पर्यटन विकास तथा व्यवस्थापन समिति गठन गरेर आवश्यक बजेट विनियोजन गरेको छ । संघ सरकारले पनि बजेट छुट्याएको छ । तर चालु आर्थिक वर्षको ६ महिनासम्म कार्यक्रम सञ्चालनका लािग प्रदेश सरकारद्वारा विनियोजित बजेटको निकासा नै नदिएको खप्तड पर्यटन क्षेत्र विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताए ।

प्रदेश सरकारले होमस्टे सञ्चालनका अनुदान, सीमा नाकामा पर्यटक सहायता कक्ष स्थापनालगायत कार्यक्रमसमेत तय गरेको मन्त्रालयका पर्यटन महाशाखाका प्रमुख पाठकले बताए । उक्त मन्त्रालयले तीन वटा आर्थिक वर्षका वार्षिक बजेटहरूमा पर्यटन क्षेत्रको विकासका लागि झन्डै ५० करोड रकम मठमन्दिर निर्माण तथा मर्मतमा खर्च गरेको अनुमान छ । पर्यटन व्यवसायीहरूका अनुसार मन्त्रालयले त्यो रकम फजुल खर्च गरेको हो । ‘मन्त्री र नेताहरूले बर्सेनि मठमन्दिर निर्माणका नाममा ५–१० लाख रुपैयाँ विनियोजन गरेर आसेपासेहरूलाई मोटाउने काम मात्रै गरेको छ । यसले पर्यटन क्षेत्रको विकासका लागि कुनै योगदान पुगेको छैन,’ धनगढीकै अर्का एक पर्यटन व्यवसायीले भने । कान्तिपुरबाट