काठमाडौं मंसिर। गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भएको भनिएको अनियमितताको निष्पक्ष छानबिन गर्नुपर्ने माग उठेको छ ।
विश्वविद्यालयका जनस्वास्थ्य अधिकृत (छात्रवृत्ति करार) सुमित बोहराले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका १५१ पदका लागि एक हजार ६ सय ६९ जनाको आवेदन परेकोमा ५४४ जना सर्टलिस्ट भई अन्ततः १५१ जनाको छनोट भइसकेको अवस्थामा छनोट प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएका हुन् ।विशेषगरी सम्बन्धित फ्याकल्टीका वैकल्पिक उम्मेदवारको सूचीसमेत सार्वजनिक नगरी हतारमा छनोट प्रक्रिया टुङ्ग्याइएको विषयमा सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा उनले जोड दिएका छन्
।बोहराले रोजगारीमा पहुँच र प्रभावलाई नभई योग्यता, पारदर्शिता र निष्पक्षतालाई आधार बनाउनुपर्ने उल्लेख गर्दै सरकारले तत्काल एक साताभित्र छानबिन समिति गठन गरी सम्पूर्ण छनोट प्रक्रिया र मापदण्ड सार्वजनिक गर्न माग गरेका छन् ।साथै, विश्वविद्यालयको ऐन संशोधन गर्दा सभा गठन तथा उपकुलपति, रजिस्ट्रार, डिन र प्रिन्सिपलको नियुक्ति सिफारिससम्बन्धी व्यवस्थामा स्वास्थ्य क्षेत्रका योग्य, अनुभवी र दक्ष उम्मेदवारलाई अवसरबाट वञ्चित नगरी समान अवसर र प्रतिनिधित्व सुनिश्चित गर्नसमेत उनले ध्यानाकर्षण गराएका छन् ।विज्ञप्तिमा आफ्नै ३०० शय्याको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन नगरी चिकित्सा शिक्षाको सम्बन्धन विस्तार गर्न खोज्नु चिकित्सा शिक्षा ऐन, २०७५ को मर्म र भावनाविपरीत हुने उल्लेख छ ।डा. गोविन्द केसीका माग तथा सरकारसँग विगतमा भएका सम्पूर्ण सहमति अक्षरशः कार्यान्वयन गर्न र गेटा विश्वविद्यालयभित्रको अनियमिततामाथि निष्पक्ष छानबिन गर्न आग्रह गर्दै बोहराले भनेका छन्, ‘डा। गोविन्द केसीका माग र सरकारसँग भएका सहमतिहरू अक्षरशः कार्यान्वयन गरियोस् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयभित्रका अनियमिततामाथि निष्पक्ष छानबिन गरियोस् । अन्यथा, यी मागहरूको सम्बोधनका लागि म सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछु ।’


