अबकै सिजनदेखि एनपीएललाई होम एन्ड अवेमा लैजान्छौं : मन्त्री पोखरेल

अबकै सिजनदेखि एनपीएललाई होम एन्ड अवेमा लैजान्छौं : मन्त्री पोखरेल
Spread the love

काठमाडौं मंसिर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सबै प्रदेशमा क्रिकेट रंगशाला बनाउन निजी क्षेत्र र क्लबसँग छलफल गरेका छन् । यसअघि उनी एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) को अवार्ड समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीका पदाधिकारीसँग अखिल नेपाल फुटबल संघको निलम्बन फुकुवासम्बन्धी वार्ता गरेर फर्किएका थिए । गत मंगलबार उनले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग (एनपीएल) का टिमका पदाधिकारीसँग छलफल गरेका छन् । मन्त्री पोखरेलले रंगशाला कुन मोडेलमा, कहिलेसम्म र कसरी बनाउने भन्ने विषयमा छलफल गरेका थिए । यसै विषयमा केन्द्रित रहेर शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग गरेको कुराकानी :

सातै प्रदेशमा रंगशाला निर्माण गर्ने विषयमा फ्रेन्चाइज क्लबहरूसँग छलफल गर्नुभयो । होम एन्ड अवेमा जानेबारे उनीहरूको धारणा के पाउनुभयो ?

होम एन्ड अवे लिग गर्ने भन्नेमा त द्विविधा नै रहेन । प्रधानमन्त्रीज्यूले नै त्यो कुरा जिकिर पनि गरिसक्नुभएको छ । छलफलमा प्रारम्भिक कुराकानी भएको हो । होम एन्ड अवे गर्नका लागि प्राइभेट सेक्टर–क्लबका साहुहरूसँग कुन मोडालिटीमा स्टेडियम निर्माण गर्ने भन्ने विषयमा छलफल गर्न उहाँहरूलाई बोलाएका थियौँ । एक त पीपीपी मोडेलमा हुन सक्छ, जहाँ सरकार र प्राइभेट क्लबहरू मिलेर स्टेडियम निर्माण पनि गर्न सक्छौँ अथवा हामीले उहाँहरूलाई लङ टर्म लिजमा दिएर त्यो स्टेडियम निर्माण पनि हुन सक्छ । उहाँहरूसँग एउटै मोडेलभन्दा पनि धेरै मोडेलमध्ये कुनमा जान सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

होम एन्ड अवेबारे तपाईंहरूले दिनुभएको, लिन खोज्नुभएको सल्लाह र क्लबले अनुभव गरेको जोखिम के के रहेछ 

लङ टर्ममा त आठवटै भेन्युमा जान्छौँ नै । अल्पकालको कुरा गर्दा यसपछिको संस्करणदेखि नै एउटाभन्दा बढी भेन्युमा लिग गर्ने गरी तुरुन्त काम सुरु गर्न कसरी सकिन्छ भन्ने विषयमा पनि छलफल भयो । चौथो सिजनदेखि नै हामीले एउटाबाट दुई वा तीनवटा रंगशालामा सुरु गर्न सक्ने विषयमा पनि छलफल भयो र बिस्तारै पाँचौँ सिजन, छैटौँ सिजनमा आठवटासम्म कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भयो । सबै क्लब सञ्चालक एकदम सकारात्मक हुनुहुन्थ्यो । सरकार जुन मोडेलमा जान्छ, त्यही मोडेलमा हामी कुनै तरिकाबाट समन्वय, सहकार्य गर्न तयार छौँ भनेर भन्नुभयो । दीर्घकालमा सबै टिमका होम एन्ड अवे गेम्स गर्न सकिन्छ भन्नेमा उहाँहरू इन्स्योर्ड नै हुनुहुन्थ्यो ।

सरकारले भनेका आठ क्रिकेट मैदानमध्ये पाँच वटामा त सुरुआतबाटै काम गर्नुपर्ने छ । बैजनाथपुरलगायत मैदानमा सरकारले जहिले पनि आश्वासन दिने तर काम नगर्ने गर्दै आएको छ । अब काम हुन्छ नै भन्ने आधार के छ र ?

सरकारको नीति तथा कार्यक्रम र बजेटमै यी रंगशाला बनाउने कुरा राखिसकेका छौँ । कतिपय रंगशाला निर्माणका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको छ । बाँकीमा क्लबका साहुसँगै बसेर, मिलेर कसरी गर्न सकिन्छ, रेभिन्यु सेयर कसरी गर्न सकिन्छ, कस्ट सेयर कसरी गर्न सकिन्छ, सकेसम्म चाँडो होम एन्ड अवे कसरी गर्न सकिन्छ भनेर छलफल गरेका छौँ ।

सकेसम्म अर्को सिजनमै एउटाभन्दा बढी भेन्यु र बिस्तारै छैटौँ सिजनसम्म जाँदा आठवटै स्टेडियममा होम एन्ड अवे गेम आयोजना गर्ने तयारी गरेका छौँ । तर यसमा तपाईंले सोध्नुभएजस्तै चुनौतीहरू नआउने भन्ने हुँदैन । अहिले एकै ठाउँमा भएर सबै मिलेको जस्तो देखिएको छ । तर अन्तर्राष्ट्रिय स्तरमा हामीले एनपीएललाई प्रसारण गर्दै गर्दा फ्रेन्चाइजको लागत अहिले नै धेरै माथि छ । एनपीएलमा क्यानले ठूलो लगानी गर्नुपर्ने हुन्छ । किनभने अहिले नै प्रोडक्सन टिमको लागत धेरै छ । खेलमा रिभ्यु सिस्टम ल्याएका छौँ, जसको एउटा ग्राउन्डमा त लागत धेरै छ । अब सबै ग्राउन्डमा त्यही स्तरको प्रोडक्सन लैजाँदै गर्दा लागत बढ्ने स्वाभाविक छ । त्यसैले डे वानबाटै आठ वटामा गर्नेभन्दा पनि बिस्तारै बढाउने सोचेको हो ।

अब राष्ट्रिय खेलकुदको कुरा गरौँ । हरेक दुईदुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद चार वर्षपछि मंगलबारबाट सुरु भएको छ । पटक–पटक मिति तोकिँदै सर्दै आयो । खेल सुरु भएपछि चाहिँ कस्तो लागेको छ ?

खेलकुद मन्त्रालय सम्हाल्दै गर्दा ठूलो चुनौतीका रूपमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनालाई देखेको थिएँ । किनभने राष्ट्रिय खेलकुद पटक–पटक हुन नसकेर सरिरहेको थियो र यसपालि चाहिँ बहाना कुनै पनि चल्दैन, जसरी भए पनि गराउनैपर्छ भनेर सुरुमै निर्णय र मिति तोक्यौँ ।

करिब एक महिनाअघि मूल समारोह समितिको बैठक बसिसक्दा पनि राष्ट्रिय खेलकुद हुँदैन कि भन्ने प्रश्नहरू उठिरहेका थिए । तर मन्त्रालयको टिम, कर्मचारी, मूल समारोहका जति पनि साथीहरू, राष्ट्रिय खेलकुद परिषद्का साथीहरूले दिनरात नभनी खटेर काम गरेको हुँदा अहिले खेल सुरु गर्न सकिएको हो । तर यसबाट पनि सिक्नुपर्ने धेरै कुरा छन् । हामीले मन्त्रालय सम्हालेकै ७–८ महिना भयो । प्रतियोगिताको मिति तोकेपछि तयारीका लागि जम्मा ३ महिना थियो ।अब दसौँ राष्ट्रिय खेलकुद सकिनेबित्तिकै एघारौँको तयारीमा लाग्छौँ । दीर्घकालीन रूपमा नै राष्ट्रिय खेलकुद हेर्नकै लागि एउटा निकाय वा समिति हुन्छ, जसले एउटा संस्करण सकिनेबित्तिकै अर्को खेलकुदको तयारी सुरु गर्नेछ । जसरी दुई वर्षमा हुनुपर्ने प्रतियोगिता ४–५ वर्षपछि बल्ल भयो, अब यस्तो हुँदैन ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४४ करोड बजेट विनियोजन भएको छ तर ७२ करोड खर्च लाग्छ भनिएको छ । यी सबै कुरालाई अब कसरी व्यवस्थापन गर्नुभएको छ ?

दसौँ राष्ट्रिय खेलकुदको बाँकी खर्चका लागि स्रोत सुनिश्चित हामीसँग भइसकेको छ । ७०–७२ करोडसम्म खर्च जुटाउन सक्ने अवस्थामै छौँ । बाँकी व्यवस्थापनको कुरा त अघि भनेजस्तै ३ महिनामा यहाँसम्म गरेका छौँ । व्यवस्थापनमा अलिअलि समस्या भएका छन् । पौडीको सन्दर्भमा कर्णालीमा जुन मल्टिप्रपोज हल छ, त्यहाँ स्विमिङ पुल भए पनि इन्टरनेसनल स्ट्यान्डर्डको कम्पिटिसन गर्न लेन्थ नपुग्ने हुँदा नेपालगन्जमा गर्नुपर्‍यो ।

दसौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहको तयारी के छ ?

उद्घाटनका लागि हामीले योजना बनाइरहेका छौँ । त्यो क्षेत्रका मन्त्रीज्यूहरूसँग सहकार्य गरिरहेका छौँ । प्रधानमन्त्रीज्यूसँग पनि कुरा गरेका छौँ । राष्ट्रपतिज्यूसँग पनि सहकार्य गर्ने काम अगाडि बढाएका छौँ । त्यसले गर्दा सकेसम्म भव्यताका साथ खेलाडीलाई केन्द्रमा राखेर उत्साहित बनाउने गरी उद्घाटन गर्ने योजना छ ।