रिपोर्ट नआउदै घर पठाईएका कोरोना संक्रमितद्वारा गाउँपालिका घेराउ

रिपोर्ट नआउदै घर पठाईएका कोरोना संक्रमितद्वारा गाउँपालिका घेराउ
Spread the love

अछाम असार २०(ई-रैवार)
अछामको बान्नीगढी जयगढ गाउँपालिकाका २९ जनामा क्वारेन्टीनबाट घर गएपछि कोरोना संक्रमण पुष्टि भयो ।
आरडीटीमा समेत पोजेटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरेर पिसीआर परीक्षणका लागि असार ५ गते धनगढी पठाइएको थियो।
त्यसपछि असार १५ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरू घर गएका थिए। गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै झुट बोल्दा उनीहरू क्वारेन्टीबाट घर गएका थिए।
तर शुक्रबार उनीहरुमा संक्रमण पुष्टि भएको खबर आयो । त्यसपछि रिपोर्ट नआउँदै घर पठाएको भन्दै शनिबार संक्रमित र संक्रमितका आफन्त आक्रोशित भएका छन् । आक्रोशित संक्रमित र आफन्तले शनिवार गाउँपालिकामा प्रदर्शन गरेका छन्। आफुहरुलाई रिपोर्ट नआउँदै घर पठाएर समुदायमा जोखिम बढाएको भन्दै उनीहरुले गाउँपालिका घेराउ गरेर प्रदर्शन गरेका हुन।
स्वास्थ्य शाखा प्रमुख रावलले रिपोर्ट नआउँदै क्वारेन्टीनमा बसेकालाई घर जान निर्देशन दिएको स्वीकार गरे। उनले भने, ‘१४ दिन कुर्दा पनि रिपोर्ट आएन। कसैमा कोरोनाको लक्षण नदेखिएपछि आरडीटी पोजेटिभ देखिएकाहरूलाई पनि घर पठाएका हौं।’
२९ जना शुक्रबार कोरोना संक्रमित भेटिए पनि गाउँपालिका भने मौन बसेको छ। गाउँ–गाउँमा कोरोना जोखिम बढ्दा पनि संक्रमितहरू कहाँ छन् भन्नेबारे गाउँपालिका बेखबर छ।
रावलले संक्रमितहरू आफैं घरमा आइसोलेसनमा बसे पनि हुने र बस्न चाहेमा क्वारेन्टाइनमा पनि राखिने बताए। उनले संक्रमितहरूबारे के गर्ने भन्नेबारे गाउँपालिकाको बैठक बसिरहेको बताए।