डोटी असार ५ (ई-रैवार)
डोटीको शिखर नगरपालिकाका आरडिटी नतिजा ‘पोजेटिभ’ देखिएका १५ जनाको पिसिआर नतिजामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणका क्रममा उनिहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
उनिहरूमध्ये १४ जना शिखर नगरपालिका-१ का हुनभने एकजना जोरायल गाउँपालिकाका रहेको शिखर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिश शाहले जानकारी दिए ।
शिखर नगरपालिका-१ को केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टीनमा रहेका एकसय दुईजनाको आरडिटी परिक्षण गर्दा जेठ २८ गते २२ जनाको नतिजा पोजेटिभ देखिएको थियो भने ८० जनाको नेगेटिभ आएको थियो ।
आरडिटीमा पोजेटिभ आएकाहरूलाई क्वारेन्टीनमै राखेर पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनिहरूमध्ये शुक्रबार १५ जनाको नतिजा आउदा सबैमा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख शाहले जनाए ।
उनिहरूको अवस्था सामान्य रहेको जनाईएको छ । अवस्था सामान्य रहेसम्म उनिहरूलाई क्वारेन्टिनमै आईसोलेट गरिने स्वास्थ्य शाखा प्रमुख शाहले बताए । उनले भने,’सामान्य रहेसम्म क्वारेन्टीनमै रहनुहुन्छ । गम्भिर भए अस्पतालको आईसोलेसन लगिनेछ ।’


