डोटी फागुन ८(ई-रैवार)
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एबं प्रभावशाली महिला नेतृ डा.डीला संग्रौलाले जनताको स्थायित्वको सपना चकनाचुर भएको बताएकी छन् । नेपाल प्रेस युनियन डोटीले शनिबार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘निर्वाचनमा स्वार्थका लागि एकिकृत भएका कम्युनिष्टहरुले राजनीतिक स्थायित्वका लागि, विकास र समृद्धिका लागि भनेर भोट मागेका थिए,’ उनले भनिन्,‘तर आज हेर्नुस्, न रेल आयो, न पानीजहाज ! खोई कहाँ पुग्यो त्यतिबेला बाँडिएको विकास र समृद्धिको सपना ?’ जनतामा बाँडिएको त्यो सपनाको साँटो देशलाई अन्धकारतर्फ धकेलिएको उनले आरोप लगाईन् । ‘उल्टै हत्या, हिँसा, बलात्कारका घटनाहरु बढिरहेका छन् । दण्डहिनता मौलाएको छ । अराजगता, अस्थिरता र भ्रष्टाचारको समय आएको छ,’ उनले थपिन् ।
वर्तमान सरकार निरंकुशताको बाटोमा अग्रसर भईरहेको उनले बताईन् । उनले भनिन्,‘नागरिक सर्वोच्चता, विचार तथा अभिव्यक्ती स्वतन्त्रता र प्रेस स्वतन्त्रता छिन्नेगरी सरकार अघि बढिरह्यो । यो सरकारको निरंकुश बाटो हो भनेर हामीले उहिल्यैदेखी भन्दै आएका छौ ।’ तर यसमा अहिले सडकमा रहेको नेकपाका नेताहरुले त्यसलाई गम्भिर नलिएको उनले बताईन् । ‘हामीले आवाज उठाउदा नदेख्ने प्रचण्ड–माधव कमरेडहरु उतिबेला बोल्नुभएन् । अहिले स्वार्थ नमिलेर पार्टी फुटाउदा हामी यहाँ छौ भन्दै नाटक गरिरहेका छन्,’ उनले भनिन् ।
संसद बिगठन असंबैधानिक र प्रतिगामी कदम हो भनेर कांग्रेस प्रष्ट रहेको उनले बताईन् । त्यसका लागि कांग्रेसले आन्दोलन समेत गरिरहेको प्रष्ट पार्दै उनले भनिन्,‘हाम्रो प्रष्ट निर्णय छ । यद्यपी लोकतन्त्रमा न्यायालयको निर्णयको बिशिष्ठ स्थान भएकाले त्यो पर्खिएका छौ ।’
बैशाखको निर्वाचन केपी ओली सरकारको नाटक मात्रै रहेको उनले बताईन् । उनले भनिन्, ‘सबै परिस्थिती हेर्दा त्यो चुनावको मिति नाटक मात्रै हो । हुने निर्वाचन होईन् ।’
कांग्रेस महाधिवेशन अव भदौमा तोकिएकै मितिमा हुने र त्यसमा महिला प्रतिनिधित्व मात्रै नभई नेतृत्वका लागि पनि आफुहरु आवाज उठाईरहेको उनको प्रतिक्रिया थियो ।
समृद्धि आएन ! बलात्कार, अराजगता, अस्थिरता र भ्रष्टाचार आयोः संग्रौला


