अरूण बम
डोटी असोज ११(ई-रैवार)
दुई ठुँटा हात ! न आफै खान सक्छन्, न व्यक्तिगत सरसफाई लगायतको दैनिकी सम्भव छ ! अरुको पुर्ण सहयोगबिना असम्भव छ, जिन्दगी !
यस्तै अवस्था छ, शिखर नगरपालिका–१० बानेडुग्रीसैनका १२ बर्षीय बालक सतीश ठगुन्नाको ।
छोराको यो अवस्थाभएपछि एकवर्षदेखी आमा विष्नादेवीका आँखा ओभाएका छैनन् । आठबर्षअघि भारत पसेका श्रीमान योगेन्द्र कहिल्यै फर्केर आएनन् । न जीवन-मरणको खबर सुनिएको छ । श्रीमानको अवस्था अज्ञात हुँदा छोराको मुहार हेरेर सम्हालिएको मन अब सम्हालिन कठिन छ ।
‘कर्मैले ठग्यो ! जिन्दगभर आँशुमा ठुब्नु लेखेको रैछ,’ विष्नादेवीले दुखेसो पोखिन,‘पहिले श्रीमान हराए । अहिले छोराको जिन्दगीमाथि बज्रपात प-यो ।’
यसरी गुमे हात
घटना गतवर्षको कार्तिक १६ गतेको हो । सतीश जोत्नका लागि गह्रामा गोरु पु-याएर साथीहरुसंगै खेल्न निस्किए । उनीहरुको टोली सेती नदीमा निर्माण भईरहेको पक्की पुलको निर्माणस्थलमा पुग्यो । जहाँ विद्युतको ट्रान्समिटर थियो । जसमुनी बेबरीको झाल थियो । उनी त्यहीँ बेबरी टीप्न खोज्दा करेन्टले उनलाई नराम्ररी झड्का दियो ।

छिमेकी आफन्तले उनलाई पहिले शिखर नगरपालिकामै रहेको बिटी पोलिक्लिनिक, त्यसपछि डडेल्धुरा अस्पताल र धनगढीस्थित माया मेट्रो अस्पतालमा पु¥याए । जहाँ उपचार सम्भव नभएपछि काठमाण्डौँ पु-याईयो ।
काठमाण्डौँको किर्तिपुर अस्पतालमा एकमहिनासम्म उपचार भयो । त्यसक्रममा उनको ज्यान त जोगियो तर दुबै हात सधैँका लागि गुमे ।
त्यतिसम्मको उपचारमा करिब सातलाख रुपैयाँ खर्च भयो । उनको सो उपचार खर्च पुल निर्माणकर्ता कम्पनी राजेन्द्र निर्माण सेवाले ब्यहो-यो । केही मनकारी व्यक्तीहरु र शिखर नगरपालिकाले थप सहयोग गरे । नेपाल विद्युत प्राधिकरणले भने कुनै सहयोग गरेन् । घटनाको तिनदिनभित्र निवेदन नपरेकाले सहयोग गर्न नसकिने भनिएको आफन्तहरुको गुनासो छ ।
कृत्रिम हातको चाहना
दुबै हात गुमेपछि सतीश र उनको परिवारको दैनिकी निकै बद्लिएको छ । उनी न्यास्रो मानेर बसिरहन्छन् । हरेक काममा परिवारको सहयोग चाहिन्छ । परिवारमा आमा विष्नादेवी, हजुरआमा कलुदेबी र एक भाई छन् । आमा र हजुरआमामध्ये एकजनाले उनको दैनिकीमा सघाउ गरिरहनुपर्छ ।
‘पहिले पानी बोक्ने, तरकारीको जोहो गर्ने, खाना पकाउने काम उही गथ्र्यो,’ उनकी आमा विष्नादेवीले गहभरी आँशु पार्दै भनीन्,‘अहिले खाना, सरसफाई, दिसापिसाब सबैमा सहयोग गर्नुपर्छ ।’
उनलाई सबैभन्दा बढी पीडा सतीशको पढाईको छ । ‘यिनै छोरालाई पढाएर सहारा लिउला भन्ने थियो । अब त केही लेख्नै सक्दैन् । आफै किताब समातेर पढ्न सक्दैन । यो देख्दा मन भक्कानिईरहन्छ,’ उनले थपिन् । सतीश अर्काको सहयोगमा परीक्षा दिएर यसवर्ष कक्षा पाँचमा प्रवेश गरेका छन् ।
छोराको भविष्यका लागि विष्नादेबीले गिट्टी फोरेर, ज्यालामजदूरी गरेर कक्षा तीनसम्म बोर्डिङ पढाएकी पनि थिईन् । धान्नै नसकिने भएपछि चार कक्षाबाट गाउँमै रहेको सामुदायिक विद्यालय सिद्धेश्वर आधारभूत विद्यालयमा भर्ना गर्न बाध्य भएको सुनाउछिन् ।
उपचारका क्रममा कृत्रिम हात राखेर आंशिक रुपमा हातको काम लिनसकिने सुनेपछि विष्नादेवीको ध्यान सोहीमा केन्द्रीत छ । ‘त्यो हात राख्नसके पढ्न–लेख्न र केही खाना खान पनि सहयोग हुन्छ रे,’ उनले भनिन्,‘त्यो हाल्नसके छोराको जीवन बनाउन सकिन्थ्यो‘की भन्ने आशा छ ।’
कृत्रिम हात हाल्न ५०–६० लाखसम्म लाग्नसक्ने ठगुन्ना परिवारले सुनेको छ । ‘डक्टरले आशा देखाएका छन् । तर, ५०–६०लाख लाग्छ भन्ने सुनियो,’ उपचारमा गएका सतीशका छिमेकी हजुरबुवा तारासिँह ठगुन्नाले भने,‘यत्रो रकम कहाँबाट जुटाउने ? उनीहरुको अवस्था नाजुक छ । हामीसंग त्यत्रो सम्पत्ती छैन् ।’
तर विष्नादेबीले हिम्मत भने हारेकी छैनन् । उनी रातदिन ढुंगागिट्टी फारेर, मजदूरी गरेर सो रकम जुटाउने कसरतमा छिन् । यसक्रममा डेढलाखसम्म रकम जम्मा गरेको उनले बताईन् ।
सहयोगको याचना
विष्नादेवीले दिनरात एक पारेर मेहनत गरेपनि सतीशको कृत्रिम हात हाल्ने सपना सजिलो छैन् । उसैपनि ठगुन्ना परिवार निकै विपन्न छ । एउटा घरमा तीन परिवार बस्छन् । तीनवटै परिवारको आर्थिक अवस्था निकै नाजुक छ । दिनहुँ छाक टार्न समेत धौ–धौ छ ।

विष्नादेबीसंग त्यो खर्च जुटाउन न श्रीमान साथमा छन्, न कमाईको ठुलो स्रोत !
त्यसैले उनी आफ्नो कलिलो छोराको जीवन अन्धकारबाट बचाउन सबैसंग याचना गर्छिन् । ‘बेसहाराको भगवान सहारा हुन्छ भन्छन् । हाम्लाई पनि कोही भगवान सहारा अवश्य देला,’ उनि भावुक हुँदै भन्छिन्,‘भगवान बनेर सक्दो सहयोग गरिदिन सबैमा अनुरोध गर्छु ।’
सहयोगी हातहरुका लागि उनको राष्ट्रिय बाणिज्य बैंक किर्तिपुर शाखामा उपचार खाता खोलिएको सतीशका छिमेकी काका राजेन्द्र ठगुन्नाले बताए ।


