टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा

Spread the love

काठमाडौँ : आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिता सकिएको भोलिपल्ट नेपाल क्रिकेट संघ ९क्यान० ले १६ सदस्यीय टिम घोषणा गरेको हो।

टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन्। टिममा तीव्र गतिका बलर सोमपाल कामी समावेस छैनन्। उनले प्रधानमन्त्री कपमा प्रभावकारी खेल देखाउन सकेका थिएनन्। यस्तै टिममा विकेटकिपर विनोद भण्डारी पनि परेका छैनन्।

विश्व छनोटको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान,  बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्।

विश्व छनोट आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्। ६ टिमबीच प्रतिस्पर्धा हुने टी-२० विश्वकपमा १२ टिम भने छनोट भइसकेका छन्।

सन् २०२१ को टी-२० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका थिए। अस्ट्रेलिया आयोजकको हैसियतमा यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो।

नेपाली टिम

सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम। 

टिममा सोमपाल नपर्दा अर्का तीव्र गतिका बलर जितेन्द्र मुखियाले पुनरागमन गरेका छन्। प्रदीप ऐरी पनि टिममा पर्दा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादवले पहिलो पटक स्थान बनाएका छन्। 

सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले विश्व छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ। ८ टिमको समूहमा उत्कृष्ट दुईभित्र पर्न सके मात्र नेपालले ८ वर्षपछि टी-२० विश्वकप खेल्नेछ।

२०२२ विश्व छनोट

समूह ए (ओमान – १५ देखि २५ फेब्रुअरी २०२२) – नेपाल, आयरल्यान्ड, ओमान,  बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई – दुई टिम विश्वकपमा पुग्ने 

समूह बी (जिम्बावे – ८ देखि १८ जुलाई २०२२) – जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका – दुई टिम विश्वकपमा पुग्ने 

२०२२ टी–२० विश्वकप 

आयोजक – अस्ट्रेलिया 

आइसिसी टी-२० विश्वकप २०२१ को सुपर १२ मा पुगेका –११ टिम (अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज)

विश्व छनोट समूह ए – २ टिम 

विश्व छनोट समूह बी – २ टिम 

जम्मा– १६ टिम