पत्रकार वीरेन्द्र साह हत्याका अभियुक्त १३ वर्षपछि पक्राउ

पत्रकार वीरेन्द्र साह हत्याका अभियुक्त १३ वर्षपछि पक्राउ
Spread the love

धनगढी, भदौ २५ (ई-रैवार) 

पत्रकार वीरेन्द्र साह हत्याका अभियुक्त १३ वर्षपछि पक्राउ गरेको छ । बाराका पत्रकार साहका हत्याका अभियुक्त हरेराम पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार पत्रकार साहका हत्याका अभियुक्त पटेललाई प्रहरीले बिहीबार घटना भएको १३ वर्षपछि कोल्हबी आसपासमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा खोज्दा पक्राउ परेका हुन् । पत्रकार साहको २०६४ असोज १८ मा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका थिए ।

बिहीबार पक्राउ परेका पटेललाई समेत सर्वस्वसहित जन्मकैदको माग दाबी गरी अदालत पेस गर्ने बारा प्रहरीले जनाएको छ । तत्कालीन माओवादीले १८ असोज ०६४ सालमा बाराका पत्रकार साहलाई अपहरण गरी हत्या गरी गाडेको अवस्थामा २२ कात्तिकमा टाँगिया बस्तीको जंगलमा शव फेला परेको थियो ।

पत्रकार साहको हत्या भएको १३ वर्षपछि बारा प्रहरीले हत्यामा संलग्न भनिएका ५ जनामध्ये ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका २ जनालाई यसअघि नै अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भइसकेको छ । मुख्य योजनाकार लालबहादुर चौधरी भने अझै फरार छन् ।

बाराको साविक तेलकुवाँ गाविस– ४ हाल महागढीमाई नगरपालिका–२ का ४७ वर्षीय पटेल तत्कालीन माओवादीका वाईसिएलका ईन्चार्ज थिए । हाल उनी मोहन वैद्यले नेतृत्व गरेका नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य र सोही पार्टीअन्तर्गतका क्रान्ति मधेसी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको प्रहरी उपरीक्षक पंगेनीले बताए ।