गीता कुँवर
अछाम, भदौ २५ (ई-रैवार)
अछाममा बालबिवाह गर्नेको संख्या बढेको छ । जिल्लामा बालबिवाह न्युनिकरणका लागि धेरै प्रयास भएपनि बालबिवाह गर्नेको संख्या बर्षेनि बढ्दै गएको देखिएको छ । पछिल्लो ३ वर्षको तंथ्थाक हेर्दा बालबिवाह घट्नुको साटो निकै बढेको देखिन्छ । स्वास्थ कार्यालयका अनुसार ३ वर्षको अवधिमा २ हजार ९ सय ८८ जना २० बर्षमुनिका किशोरीहरुले बच्चा जन्माएका छन् । स्वास्थ कार्यालय अछामका अनुसार २०७४–०७५ मा ७३९ जनाले बच्चा जन्माएका थिए । २०७५–०७६ मा ९ सय ९७ जना रहेका थिए । ०७६–७७ मा १ हजार २ सय ५१ जना २० वर्षमुनिका बच्चा जन्माएका छन् ।
जनस्वास्थ अधिकृत झपट ढुंगानाका अनुसार अस्पतालमा गर्भ जाँचका लागि आउनेले उमेर लुकाउने गरेकाले यो संख्या अझै कम देखिएको बताए । उनले भने , अस्पताल गर्भ जाँचका लागि आउनेहरुले आफ्नो उमेर लुकाउछन्, यदि सहि उमेर भन्ने हो भने यो संख्या बढ्छ,०७६ – ७७ मा २० वर्षमुनिका १ सय २४ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।’
मेल्लेख गाउँपालिकामा मात्र लकडाउनको अवधिमा ७० जनाले बालबिवाह गरेका छन् । २० वर्ष नपुगी गरिएका बालबिवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै हुन सक्ने कानूनी व्यवस्था रहेपनि बालबिवाह गर्ने क्रम रोकिएको छैन । वालविवाह गर्ने १५ वर्षदेखि १९ वर्षका रहेका छन । मेल्लेखको गाउँपालिकाको साविकको ऋषिदह गाविसमा ३९ जना जोडिले बालबिवाह गरेको पाइएको छ ।
स्थानीय सरकार गठन भएको पनी ३ वर्ष पुगेको छ । स्थानीय सरकार र यहाँका गैरसरकारी सस्थाहरुले बालबिवाह न्युनिकरणका लागी करोडौ रकम खर्च गर्नेका छन् । तर बर्षेनी बालबिवाह बढ्नुले करोडौ रकम बालुवाका पानी खन्याए झै भएको छ ।
गाउँ तथा टोलमा गठन भएका बालक्लब तथा बालबिवाह न्युनिकरणकै अभियानमै लागेकाहरुले बालबिवाह गर्दा चुनौती थपिएको साँफेबगर नगरपालिका उपप्रमुख बिर्मला बुडथापा बताउँछिन् । उनले भनिन्, अगुवाहरुले नै गर्दा चुनौती थपिएको छ,ग्रामीण भेगमा अशिक्षा,गरिबीका कारण बालबिवाह हुने गरेको छ,यसमा विशेषगरी अभिभावकहरुले सोच्नुपर्छ,कुनै एक पक्ष लागेर यसको अन्त्य हुँदैन ।
स्वास्थ कार्यालयको तथाक अनुसार गत आर्थिक बर्षमा साँफेबगर नगरपालिकामा २ सय ८८, पञ्चदेवल बिनायक नगरपालिकामा १ सय ४३, कमलबजार नगरपालिकामा १सय ४१, तुर्माखाद गाउँपालिकामा १ सय ३७, रामारोशन गाउँपालिकाका १ सय ३०, मंगलसैन नगरपालिकामा १ सय ८,मेल्लेख गाउँपालिमामा १ सय ७,ढकारी गाउँपालिकामा ७९, चौरपाटी गाउँपालिकामा ७७ र बान्नीगढी जयगढ गाउँपालिकामा ४१ जनाले बालविवाह गरेका छन् ।
अन्नपुर्ण पोष्टबाट


