ओली नेतृत्वको सरकारका कारण लोकतन्त्र खतरामा– सभापति देउवा

ओली नेतृत्वको सरकारका कारण लोकतन्त्र खतरामा– सभापति देउवा
Spread the love

काठमाडौं, भदौ २४ (ई-रैवार)

पुर्ब प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारका कारण लोकतन्त्र खतरामा परेको बताएका छन ।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार आयोजित ‘बीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ विषयक ‘भर्चुअल’ विचार गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

सभापति देउवाले  ओली नेतृत्वको सरकारबाट प्रजातन्त्रमाथि खतरा रहेको बताए । “प्रजातन्त्रमाथि धेरै ठूलो खतरा छ । यिनीहरुले प्रजातन्त्रका अधिकारहरु विस्तारविस्तारै खोस्‍न खोजिरहेका छन् । प्रेस स्वतन्त्रता खोस्‍न खोजिरहेका छन्, टेलिफोन ट्यापिङ गर्न खोजिरहेका छन्,” उनले भने, “कुनै पनि हालतमा यस्ता अप्रजातान्त्रिक कुराहरु स्वीकार्य हुन सक्दैनन् । आन्दोलन गर्नुपर्ने बेला आउन सक्छ । हामी त आन्दोलन गर्ने पक्षमा थियौं । तर, कोरोनाले गर्न सकिएन ।”

सभापति देउवाले प्रजातन्त्रका लागि राणा, पञ्चायत र राजा ज्ञानेन्द्रसँग लडेको स्मरण गर्दै अब कम्युनिस्टसँग लड्नुपर्ने अवस्था आउने बताए । “अहिले कोरोनाका कारण आन्दोलन गर्न नसकिए पनि भोलिका दिन कुनै पनि बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ । सबै तयार हुनुपर्छ, हामी तयार हुनुपर्छ,” उनले भने ।

सोही अबसरमा सभापति देउवाले आफूले कुनै पनि नेताले पार्टी छोडुन भन्ने नचाहेको बताएका छन् । “पार्टीको झगडा पहिलेदेखिकै हो । किशुनजीले पार्टी छोड्नु भएकै हो, गणेशमानजीले पार्टी छोड्नुभएकै हो,” सभापति देउवाले भने, “तर, म कसैले पार्टी छोडुन् भन्ने चाहन्न ।” पार्टीभित्रको झगडा अहिलेमात्रै नभएर पुरानै भएको उनको भनाइ थियो ।

कोरोना महामारीका कारण आशन्न महाधिवेशन पूर्वनिर्धारित समयमा आयोजना गर्न समस्या देखिएकोतर्फ संकेत गर्दै सभापति देउवाले केन्द्रीय कार्यसमितिमा महाधिवेशनका बारेमा छलफल गरिने बताए । “कोरोनाका कारण महाधिवेशन गाह्रो भयो । साथीहरुले जे भन्नुहुन्छ म तयार छु, सहमतिले कहिले गर्ने, कहिले सार्ने ?,” उनले भने ।

“अधिवेशन हुनुहुन्‍न भनेर म कहाँ भन्छु । कोरोनाका कारण हुन सकेन भने मैले के गर्न सक्छु र ? त्यस कारण सबै साथीहरुले साथीहरुले जे भन्नुहुन्छ म तयार छु, गर्नुपर्ने भए कहिले गर्ने, सार्नु पर्ने भए कहिले सार्ने,” उनले भने, “नेपालको संविधानले दिएभन्दा बढी त बढाउनै पाउँदैन, त्यो कुरा त मलाई पनि थाहा छ नि । त्यस कारण कसैले भन्‍नै पर्दैन ।

देउवाले आफू निर्धारित समयमै महाधिवेशन गर्ने पक्षमा रहेको स्पष्टीकरण दिए । देउवाले वीपीले देखाएको बाटो कहिल्यै नछाडेको दाबी गर्दै उनी जीवित भएका भए पनि समय अनुसार चल्ने दाबी गरे ।

विचार गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले समयमै महाधिवेशनका लागि तयारी नगरेका कारण अहिलेको अवस्था सिर्जना भएको दाबी गरे । उनले आफूले महाधिवेशनका लागि प्रस्तुत गरेको खाका स्मरण गराउँदै आफूले पेस गरेको खाका अनुसार कार्यतालिका बनाएर अघि बढेको भए अहिलेको अवस्था नै नआउने जिकिर गरे ।

“मैले महासमिति बैठकमा लिखित रुपमा ‘सुनौलो भविष्यका लागि समयवद्ध काम गरौं’ भनेकै हो । समयमै काम गरेको भए अहिले रुवाबासी हुँदैनथ्यो । समयवद्ध रुपमा काम गरौं भन्दा साथीहरुले यसलाई महाधिवेशनका लागि हतार भयो भनेर व्यंग गर्नुभयो, तर मलाई हतार भएको थिएन,” नेता पौडेलले भने ।

सभापति देउवाले सहज वातावरण भएका बेला असहज वातावरण भनेर कार्यकाल लम्ब्याएको टिप्पणी गर्दै प्रश्न गरे, “अहिले असाधारण परिस्थिति आयो, अब कता लाने हो ? हाम्रो विधानले एक वर्षभन्दा बढी थप्ने ठाउँ छैन । अब के गर्ने ? पार्टीमाथि संकट आयो कि आएन ?”