काठमाण्डौँ, भदौ १० (ई-रैवार)
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी विभाजन भएपछि पहिलोपटक आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका छन् । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलो पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
तामाङकाअनुसार १० बुँदे सहमति कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे, पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यलाई कारबाही प्रक्रया अगाडि बढाउनेबारे आज केन्द्रीय कमिटीमा छलफल हुनेछ।
आज दिउँसो १२ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनमा लागेका सदस्यहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउने केन्द्रीय कार्यालयका सचिव तामाङले जानकारी दिए ।
दुई दिनअघि तेस्रो धारका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको बैठक तय गरेको हो । बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने कार्यसूची छ । त्यसैगरी संगठनात्मक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन्। निर्वाचन आयोगबाट उक्त पार्टी बुधबार दर्ता भई प्रमाण पत्र पाइसकेको छ। नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सघाएका छन् ।


