काठमाडौं, भदौ २३ (ई-रैवार)
नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसअघि सोमबार धुम्बराहीस्थित ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो । तर, रि–कन्फर्मका लागि टेकुमा फेरि परीक्षण गरिएको थियो ।
महामन्त्री डा. कोइरालाको सचिवालयका अनुसार मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा महामन्त्री डा. कोइरालाको स्वाब ह्याम्समा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको बताइएको छ ।


