काठमाडौं, साउन ९ (ई–रैवार)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भेटघाटमा सक्रिय भएका छन् । अध्यक्ष प्रचण्ड मन्त्रिपरिषद विस्तार र मन्त्री संख्या भागबण्डाका विषयमा भेटघाटमा र छलफलमा सक्रिय भएका हुन ।
सत्ता समीकरण मिलाउन गठबन्धनका नेताहरूसँगको भेटवार्तालाई बाक्लो बनाएका अध्यक्ष प्रचण्ड आज बिहानै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
बिहानैदेखि दौडधुपमा रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँगको भेट सकेर लगत्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । उनले सत्ता समीकरण मिलाउन गठबन्धनका नेताहरूसँगको भेटवार्तालाई बाक्लो बनाएका हुन् ।
भेटमा प्रचण्डले मन्त्रिपरिषद विस्तार र भागबण्डाका विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । प्रचण्डले माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने कानुनी र राजनीतिक जटिलताका विषयमा नेताहरूसँग छलफल गरेको बताइएको छ ।
एमालेका दोस्रो तहका नेताबीच एकताको प्रयास भइरहेका बेला सरकारमा सहभागिताबारे प्रचण्डले नेपालसँग छलफल गरेका हुन् ।
यसअघि देउवाले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति अनुसार अहिले मन्त्रीको संख्या र सहभागिता टुग्याउने विषयमा गठबन्धनका नेता छलफलमा छन् । यता माधव नेपाल समूह भने सरकारमा सहभागी हुने वा नहुने भन्ने टुंगो लागेको छैन ।
सरकार बनेको १० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । गठबन्धनसँग आबद्ध एमालेको माधव र जसपाको उपेन्द्र पक्षले समय मागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको देखिन्छ ।


