काठमाडौं, भदौ २२ (ई-रैवार)
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटवार्तामा २६ भाद्रका लागि स्थायी कमिटी बैठक बोलाउने सहमति भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार दुई अध्यक्षबीच १३ साउनमा स्थगित स्थायी कमिटी बैठक २६ भाद्रमा बोलाउने सहमति भएको हो । स्थायी कमिटी बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलको सुझावबारे छलफल हुने बुझिएको छ । सहमतिको खाकालाई पारित गरी शक्तिबाँडफाँडको टुंगो लगाइने बालुवाटार स्रोतले जनाएको छ ।
नेकपामा आन्तरिक विवाद बढेपछि गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १७ गतेपछि ७ पटक स्थगित भइसकेको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच कुरा नमिलेका कारण स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।
यसअघि स्थायी कमिटीका बहुसंख्यक सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि बैठक स्थगित गरिएको थियो । सहमति बनेपछि डाकिएको स्थायी कमिटी बैठक बस्नुलाई अर्थपूर्ण मानिएको छ ।


