दशैंले नेतालाई विवेक प्रदान गरोस, कोरोना भगाओस

दशैंले नेतालाई विवेक प्रदान गरोस, कोरोना भगाओस
Spread the love

धर्मेन्द्र झा

नवरथा सुरु भइसकेको छ । हिजो आज घटस्थापना तथा माता शैलपुत्रीको आराधना सकेर आज घर घरमा दुर्गा भगवतीको दोश्रो रुप अर्थात ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ । नवरथाको अन्तिम दिन दर्शै अर्थात् विजया दशमी । हिन्दूहरुको महान पर्व । घटस्थापनादेखि नवमीका दिनसम्म दुर्गा देवीको सबै स्वरुपको पूजा अर्चना हुने गर्दछ र दशमीको दिन विजयोत्सव मनाइन्छ । यस दिन ठूलाबाट आशर्विाद थापिन्छ भने सानालाई आशीर्वाद दिइन्छ । तर यसपटक विगतको भन्दा अवस्था फरक छ । यसपटक पहिलेको जस्तो हर्षोल्लासपूर्वक दशैं मनाउने अवस्था छैन । यसपटक कोरोनाको आगमनले सम्पूर्ण समाज र देशलाई आक्रान्त बनाएको छ ।

यस पृष्ठभूमिमा हिन्दू नेपालीहरुको महान पर्व दशैं यसपटक निरस बन्ने सम्भावना देखिएका छ । दशैं नेपालका सन्दर्भमा यस्तो पर्व हो, जसको अवसर पारेर देश–विदेशमा बसेका आफन्तहरु एक ठाउँमा एकत्रित भई परिवारको सुख भोग गर्छन् । निश्चय पनि यसपटक अवस्था बदलिएको छ । यसपटक परिवार–सुखको अवसर सबैले पाउने छैनन् र जसले पाउने छन् उनी पनि मानसिक तनावमै हुनेछन् । माथिनै उल्लेख गरियो, यसको कारण हो कोरोना ।

दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजयपर्वका रुपमा स्वीकारिन्छ । तर यो पर्वको महत्व यतिमा मात्र सीमित छैन । व्यवहारिक जीवनमा हेर्ने हो भने यस पर्वको महत्व परिवार जोड्नेसँग पनि छ । दशैंको अवसरमा प्रत्येक नेपाली आफ्नो परिवारमा एकत्रित हुन्छन् र एकअर्कामा समाहित हुने प्रयत्न गर्छन् । टाढाटाढा रहेका परिवारका सदस्य एक ठाउँमा जम्मा हुन्छन् र सबै राग—द्वेष विर्सेर एकअर्काका लागि सहयोगी हात बढाउँदै नयाँ भविष्यको निर्माणमा सक्रिय हुन्छन् । परिवारका सदस्यको कल्याण र उन्नती सबैको अभीष्ट हन्छ । वास्तवमा यो पर्वले पारिवारिक सम्वादको वातावरण पनि निर्माण गर्दछ जहाँ सबै छलफलमा सहभागी हुन्छन् । दशैं पर्वले हामीलाई वर्षौदेखि पारम्परिकरुपमा यही पाठ पढाउँदै आएको छ । निश्चय पनि यो देश हामी सबै एकत्रित हुने साझा थलो हो र आमनेपाली जनता वृहद् परिवारका सदस्य । तर यसपटकको दशैंले हामीलाई एकत्रित् हुन र एकअर्काको सुखदुखमा एकाकार हुन रोक्ने अवस्थाको सिर्जना भएको छ । कोरोना त यसपटकका लागि मात्र बाधक बनेको हो तर खासमा विश्लेषण गर्दै जाँदा दशैंले आफ्नो पारम्परिक महत्व क्रमशः गुमाउँदै गएको भान हुन्छ । किन ? कारणहरुको विश्लेषण अपेक्षित छ ।

दशैं पर्वले हामीलाई वर्षौदेखि माथि उल्लेख गरिएजस्तै पारम्परिकरुपमा यही पाठ पढाउँदै आएको छ । निश्चय पनि यो देश हामी सबै एकत्रित हुने साझा थलो हो तर पछिल्ला दिनमा दशैंले हामीलाई एकत्रित् हुन र एकअर्काको सुखदुखमा एकाकार हुन किन सिकाउन सकिरहेको छैन ? दशैंले आफ्नो पारम्परिक महत्व किन निर्वाह गरिरहेको छैन र अर्थ गुमाउँदैछ ? यसपटकको दशैंले परिवार जोड्ने आफ्नो पारम्परिक महत्व कायम गर्न सकोस ।

शान्तिका अग्रदूत बुद्ध र महाज्ञानी विदेहको भूमीका जनता अशान्तिका विरोधी हुन् । सारमा नेपालका आमजनता शान्तिकामी हुन् । तर दुर्भाग्य, यस भूमीको पछिल्लो कालखण्डको राजनीति अशान्त र स्वार्थी बन्न पुगेको छ । नेपाली राजनीतिकर्मीको अदूरदर्शिता र क्षणिक स्वार्थका कारण नेपाल र नेपाली प्रताडित बन्न पुगेकोमा शंका छैन । नेपालको पछिल्लो समयको अवस्था मूल्यांकन गर्ने हो भने अवस्था निकै कहालीलाग्दो छ । वर्तमान सरकार जनता, समाज र देशप्रति जिम्मेबार हुन सकेको देखिएन । यो सरकार अस्तित्वमा आएदेखि राजनीतिक दलबीच दूरी बढेको छ । जनस्तरको सम्बन्धको धाँजा फाटेको छ । जनता एकअर्कासँग टाढिएका छन् । फलतः राष्ट्रिय एकता कमजोर बन्न पुगेको छ । आफ्ना समस्याको समाधान नेपाल र नेपाली स्वयंले गर्न सक्नुपर्दछ । यसको विकल्प छैन । तर घुमाउरो पाराले विदेशी हस्तक्षेप बढेको अनुभव गरिएको छ । एउटा छिमेकी देशको राष्ट्रपतिले नेपाल भ्रमण गरेको वर्ष दिन पुगेको अवसरमा भव्यरुपले वार्षिकोत्सव मनाउने सत्ताधारी दलका निकटका व्यक्ति र संघ संस्थाको प्रवत्तिलाई के को संज्ञा दिने ? निश्चय पनि यो विवेकको कुरो हो । यसपटकको दशैंले नेताको गुमेको विवेक फिर्ता ल्याओस भन्ने कामना ।

नेपाल र नेपालीका परिचय र पहिचानका सीमा खुम्चिँदै छन् । नेपालको राजनीति अहिले यही धारबाट निर्देशित छ भन्दा अतिशयोक्ति हुँदैन । मुलुकका सामु देखिएको अहिलेको जटील समस्याको समाधान नेपालीले गर्न सक्छन् र यसको प्रारम्भ विन्दू दलहरुको स्वीकारोक्ति हुने कुरामा विमति हुन सक्दैन । दलबीच समन्वय हुन नसक्नु दुखद छ । प्रश्न उठ्छ, आखिर दलहरु किन एक ठाउँमा आउन सकिरहेका छैनन ? देशको समस्या समाधान गर्न किन सबै एकमत छैनन ? किन सबै आफ्नै मूल्यमा मात्रै समस्याको सम्बोधन चाहन्छन् ? सबै शक्ति सबैतिर फर्केर समस्याको सम्बोधन हुन सक्दैन । यो यथार्थ थाहा हुँदाहुँदै पनि नेपाली राजनीतिक शक्तिहरु असाध्य समाधान खोज्ने नौटंकीमा किन व्यस्त छन् ? यी सबै प्रश्नका उत्तर देशवासीले चाहेका छन् । यी प्रश्नको उत्तरप्राप्तिमा दुर्गा भवानी सहायकसिद्ध हुन सकुन ।

अहिले नेपाली राजनीति बडो सकसमा छ । जनताका अकांक्षा समस्याग्रस्त छन् । दलबीचको दुरी कम हुन सकोस । जनस्तरको खाडल पुरिन सकोस । आपसमा सम्वादको वातावरण निर्माण हुन सकोस । दशैंका अवसरमा आमनेपाली एकअर्कामा समाहित हुन सकुन । यति हुन सके जस्तोसुकै समस्या पनि समाधान हुन सक्छ र देश जोडिन सक्छ । यसपटकको दशैंले राष्ट्रिय एकता प्रवद्र्धन गरी कोरोना नियन्त्रणलगायतका देशका सबैखाले समस्याको समाधान गर्न शक्ति प्रदान गर्न सकोस । अबको यात्रा सुखद हुन सक्नुपर्छ ।

यो कार्य मौखिक शुभकामना आदान—प्रदानबाटमात्र सम्भव छैन । यसका लागि सबैले मन वचनले प्रयास गर्नु अपेक्षित छ । नेपाली राजनीतिमा पछिल्लो दिनमा अरुलाई दोष पन्छाएर आफू ओभानो हुने प्रवृत्ति मौलाएको छ । यो गलत हो । नेपाली राजनीतिक दलहरुका काारण अहिले समग्र नेपाली मानसिकता विभाजनको सँघारमा पुगेको छ । वर्षाैदेखि एक भूमीमा मिलेर बसेका नेपाली जनता एक अर्कासँग टाढिन पुगेका छन् जो देशको दीर्घकालीन हीतका लागि हानिकारक छ र दुखपूर्वक भन्नुपर्छ, यो अवस्थाको निर्माणकर्ता नेपाली दलहरु हुन् । दशैंले नेपाली दल र नेतालाई सद्बुद्धि प्रदान गर्न सकोस र अहिलेको विषम अवस्थालाई सहज बनाउन भूमिका निर्वाह गर्न सकोस । सबैलाई यही नै शुभकामना ।

बिकास टाइम्सबाट