रातो मच्छिन्द्रनाथको रथ आज तानिने : यसरी तानिँदै छ रातो मच्छिन्द्रनाथको रथ

रातो मच्छिन्द्रनाथको रथ आज तानिने : यसरी तानिँदै छ रातो मच्छिन्द्रनाथको रथ
Spread the love

 

ललितपुर, भदौ २१ (ई-रैवार) 

कोरोनाको जोखिमका कारण​ अन्योलमा परेको ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा छोट्याउने सहमति भएअनुसार आज रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ। यससँगै आज ललितपुरका बासिन्दाले छ्वयलाभू बनाउने भएका छन् ।

स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको छ भने अहिले गास्बहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ। दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ ।

त्यसपछि ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुने छ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । विगतका वर्षहरुमा रथलाई जुन जुन ठाउँमा विश्राम गराइयो त्यस क्षेत्रका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने परम्परा थियो ।

यसपालि साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेकोले गाः बहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुगः जात्रा व्यवस्थापन समिति, लंगया बुंगद्यः जात्रा व्यवस्थापन समिति र जावलाख्यः जात्रा व्यवस्थापन समितिका ४०, ४० जना गरेर १६० जनाले रथ तान्ने भएका छन् । रथ तान्नको लागि उनीहरु आज दिउँसो ३ बजे गास् बहालमा भेला हुने छन् । रथ तान्नेहरुको पहिचानको लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र १६० वटा टोपीको व्यवस्था गर्ने भएको छ।

स्वास्थ्य सुरक्षाका लागि पाँच सय वटा मास्क, पन्जा र भाइजर तथा १५ लिटर स्यानिटाइजर व्यवस्था गरिने भएको छ। ५ जोर धिमे बाजा बजाउनको लागि २० जना, काः बाजा बजाउने ४ जना र २ जोर नायखिं बाजा बजाउनको लागि ४ जनाको टोली तयार गरिने भएको छ । रथलाई हपाः दिने जिम्मा काय्गु ननी टोलले लिएको छ ।

त्यस्तै मच्छिन्द्रनाथ र मीननाथको रथ सँगसँगै बस्नको लागि ज्यापू समाज यल, नेपालभाषा मंका खल यल, १९ वटा जातीय समूहका अध्यक्ष, ललितपुर महानगरपालिकाका मेयर, उपमयेर, सांसद, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गुठी संस्थानका प्रमुख, जात्रा व्यवस्थापनका संयोजकलगायत गरेर १२२ जना बस्ने भएका छन् । त्यस्तै किरण डंगोलको संयोजकत्वकमा गाःबहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुग समिति, लंगया समिति, जावलाखेल समिति, विभिन्न जातीय समूहको तर्फबाट १२४ जना स्वयंसेवक परिचालन गरिने भएको छ ।

हरेक वर्ष मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाः बहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याएर भोटो जात्रा गर्ने गरिन्थ्यो भने गास्बहाल, सुन्धारा , लगनखेल र जावलाखेलमा रथलाई विश्राम गराएर पूजा गरिन्थ्यो । जावलाखेलमा भोटो देखाएपछि मूर्तिलाई बुङ्गमती लगिएसँगै जात्रा सम्पन्न हुन्थ्यो। यस वर्ष भने महामारीका कारण भोटोजात्रा नगरिने भएको छ ।

सोमबार भुज्या मनाउने तथा मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ भने साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान लगिनेछ । यसैसँगै २०७७ सालको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ।