डोटी भदौ ११(ई-रैवार): चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसी यतिबेला सुदूरपश्चिम पहाडको भ्रमणमा छन् । मंगलबार साँझ डोटी पुगेका डा. केसीले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरे ।
एक्लै सुदूरपश्चिम पहाड आएका उनी डोटी र डडेल्धुरामा केहीदिन बिताउने बुझिएको छ । आफु सुदूरपश्चिम पहाड आउनुको कारण भने उनले खोल्न मानेका छैनन् । यद्यपी आफु पर्यटकका रुपमा सुदूरपश्चिम चढेको उनले बताउने गरेका छन् । ‘म पर्यटकका रुपमा यहाँ आएको हुँ,’ जिल्ला अस्पताल डोटीमा उनले संक्षिप्त प्रतिक्रिया दिदै भने ।
जिल्ला अस्पताल पुग्दा उनले अस्पतालको बस्तुस्थिती, बिरामीहरुको अवस्था नियालेको र सामान्य रुपमा यहाँको जनस्वास्थ्यको सवालमा कुराकानी गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. भुषण मिश्रले बताए । ‘उहाँले अस्पतालको बस्तुस्थिती, भौतिक पूर्वाधारको अवस्था र मेडिकल पूर्वाधारहरु नियाल्नुभयो,’ उनले भने,‘यसबाहेक केही बिरामीहरुलाई हेर्दै सामान्य कुराकानी गर्नुभो ।’ त्यसबाहेक सामान्य कुराकानी गरेर ‘पछि साँझ(बुधबार साँझ) आउछु’ भनेर गएको उनले बताए ।
मेडिकल सुपरिटेण्डेन्ट मिश्रले आफुसंग पनि डा. केसीले आउनुको कारण केही उल्लेख नगरेको बताए । उनले भने,‘उहाँले केही भन्नुभएन् । सायद यहाँको जनस्वास्थ्य स्थितीको बारेमा जानकारी लिन आउनुभएको हुनसक्छ ।’
डा. केसी लामो समयदेखी चिकित्साक्षेत्रको सुधारको माग गर्दै संघर्ष गर्दै आईरहेका छन् । उनले आफ्नो संघर्षका क्रममा दुर्गममा पनि मेडिकल कलेज खुल्नुपर्ने माग राख्दै आएका छन् । जसमा उनले सुदूरपश्चिमको डोटी–डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने अडान राख्दै आएका छन् ।
उनको १५ औँ अनशन तोड्दा सरकारसंग २०७५ साउन १० गते ‘डोटी–डडेल्धुरामा मेडिकल कलेजको सम्भावना अध्ययन’ गर्ने भनिएको थियो । त्यसका लागि ‘एक महिनाभित्र टोली गठन गर्ने’ भनिएको थियो । यद्यपी यो बुँदा एकवर्ष बित्दापनि कार्यान्वयन भने भएको छैन् । डा. केसीको यसपटकको सुदूरपश्चिम भ्रमण यसकारण पनि बिशेष रुपमा हेरिएको छ ।
डा. गोविन्द केसी सुदूर पहाडमा


