बागलुङ, भदौ १९ (ई-रैवार)
बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोबाट मृत्यु भएकामध्ये ४ शवको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको छन ।
पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने प्रहरी नायव उपरीक्षक रेग्मीले बताए । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । उनले १० जनाको शवको अझै सनाखत हुन नसकेको बताए ।
बुधबार राति आएको बाढी र पहिरोले वस्तीमा क्षति पुर्याएको छ । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका प्रहरी नायव उपरीक्षक रेग्मीले बताएका छन् ।
कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । आज बिहानैदेखि खोजी शुरु भएको छ । स्थानीयले ३५ जना बेपत्ता भएको बताएका छन् । कतिपयको घरमा पाहुनाहरु पनि आएकाले बेपत्ता भएकाहरुको संख्या एकिन भएको छैन ।
प्रहरी निरीक्षक भण्डारीका अनुसार पहिरोले फलेघर र सुपुर्दुङका दर्जन बढी घर बगाएको छ भने वडा नं. ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांश घरको भग्नावशेषसमेत देखिएको छैन ।
बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी आउँदा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।


