धनगढी, १२ भदौ (ई-रैवार)
डाँकाचोरी मुद्दामा ४ जनालाई १ सय ७० वर्ष कैद सजाय भएको छ । डाँकाचोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका ४ जनालाई १ सय ७० वर्षको कैद सजाय भएको हो ।
प्रहरीले २० वर्ष अघि बिभिन्न मितिमा ७ – ८ जनाको समूहमा बनाई रातिको समयमा कैलालीको जोशीप्र, भजनी, बौनिया, मुनुवा लगायतका क्षेमा हातहतियार सहित बिभिन्न व्यक्तिको घरमा पसेर लुटपाट गर्ने ४ जनालाई भदौ ९ गते घरैबाट पक्राउ गरेको हो । यसअघि पनि पक्राउ भएका उनीहरु भाग्न सफल भएका थिए ।
अदालतले गरेको फैसला अनुसार पक्राउ परेका चारै जनाको कैद सजाय जोड्दा १ सय ७० वर्ष हुन आउछ । अदालतले एउटै व्यक्तिलाई ८७ वर्ष कैद सजाय सुनाएको थियो ।
पटक पटक गरेर ८ वटा डाँका मुद्दामा फरार अपराधी कैलालीको जोशी गाउँपालिका वडा नम्बर ६ वस्ने ४५ वर्षीय रोगही भन्ने करन राज थापालाई ८७ वर्ष कैद सजाय र ४४ हजार १ सय ५३ रुपैया जरिवाना भएको छ ।
प्रहरीले पक्राउ गरेका कैलालीको भजनी नगरपालिका वडा नम्बर ६ बस्ने टीकाराम चौधरी डगौरालाई ५ वटा डाँका चोरी मुद्दामा ३८ वर्ष कैद र ९ हजार ८ सय ४० रुपैया सजाय गरेको छ । उनी तत्कालिन थापापुरगाउँ विकास समितिको भवनमा आगजनी गर्ने कार्यमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै कैलालीको जोशीपुर गाउँपालिका–४ वस्ने ३८ वर्षीय कालु भन्ने गुन सिंह कठरियालाई ४ वटा डाँका मुद्दामा ३९ वर्ष कैद र १४ हजार ७० रुपैया जरिवाना तोकिएको छ ।
यसैगरी डाँकाचोरी मुद्दाका फरार अपराधी जोशीपुर गाउँपालिका–३ का ४९ वर्षीय रोहिना भन्ने भगत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीमाथि एउटा डाँका चोरीको मुद्दामा संलग्न भएको अभियोग प्रमाणित भएको थियो । उनलाई ६ वर्ष कैद र ४ हजार ५ सय रुपैया जरिवाना गरिएको छ । उनी २०५७ सालमा पक्राउ परी कारागार चलान भएका थिए । उनी कारागारबाटै २०६१ साल माघ २७ गते फरार भएका थिए ।


