काठमाडौँ, असार ७ (ई-रैवार)
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि चहलपहल शुरु भएको छ। कांग्रेसको वडा तहबाट सुरु हुने अधिवेशनको देशभर चहलपहल शुरु भएको हो ।
कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ। वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन्। साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।
साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ। साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्दैछ। साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ।
कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेपछि महाधिवेशन चहलपहल शुरु भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वका लागि दोस्रो कार्यकाल आफैँ चुनाव लड्ने भन्दै केन्द्रीय सदस्यहरुसँग परामर्श गरिरहेका छन् ।
शनिबार प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ का केन्द्रीय सदस्यसँग छलफल गरेका सभापति देउवाले आइतबार वाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग संयुक्त छलफल गरेका छन् । आज पनि सभापति देउवाले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्।
शनिबारदेखि देउवाले प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरिरहेका छन्। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग देउवाले कुराकानी गर्न लागेका छन्।
देउवाले पार्टी चलाएको र प्रधानमन्त्रीसमेत भएर अनुभव हासिल गरेकोले आफू पुनस् एक कार्यकाल कांग्रेस नेतृत्वमा रहन चाहेको बताइरहेका छन्। कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेपछि देउवाले सक्रियता बढाएका हुन्।
यसपटक सभापतिमा देउवा समूहकै दुई जना नेताले दावी गरिरहेका छन्। उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गरेका छन्। उनीहरू लामो समयदेखि देउवालाई सघाउँदै आएका छन्।
आफ्नो समूहलाई एकजुट बनाउँदै लैजान देउवालाई उनीनिकटका केन्द्रीय सदस्यले सुझाव दिइरहेका छन्। निधि र श्रेष्ठलाई पनि साथै लिएर अघि बढे मात्रै महाधिवेशन जित्न सकिने र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सहयोग पनि लिनुपर्ने सुझाव केन्द्रीय सदस्यहरूले राखेका छन्।
देउवाले सबैको कुरा सुनेर आफ्नो समूहभित्र छलफल गरी सभापतिमा उम्मेदवारी दिनेबारे औपचारिक घोषणा गर्ने बताइरहेका छन्।
आजका मितिसम्म सभापतिका लागि ८ जना उम्मेदवार देखिएका छन् । १३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्बमहामन्त्री कृष्ण प्रसाद सिटौला रहेका छन्।
त्यसबेला प्रतिस्पर्धा नगरेका उपसभापति विमलेन्द्र निधि, पुर्बउपसभापति गोपालमान श्रेष्ठ, पुर्बमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइराला सभापतिका उम्मेदवारी देखिएका छन् ।


