चीनले तोक्‍यो कोरोनाविरुद्धको खोपको मूल्य, डिसेम्बरसम्म खोप बजारमा ल्याउने

चीनले तोक्‍यो कोरोनाविरुद्धको खोपको मूल्य, डिसेम्बरसम्म खोप बजारमा ल्याउने
Spread the love

 

बेइजिङ, भदौ ११ (ई-रैवार)

सन् २०१९ को अन्तिममा चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अहिले महामारीको रुपमा विश्वभर फैलिरहेको छ । अहिले चीनले आफ्नो सबै शक्ति लगाएर कोरोना भाइरसविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रतिस्पर्धा जित्‍ने प्रयास गरिरहेको छ ।

विकासको क्रममा रहेको एउटा खोपको तस्बिर गत साता सरकारी सञ्‍चारमाध्यममार्फत प्रकाशन गरिएको थियो । तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेको देखिन्छ । सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर यसको मूल्य १४० डलर अर्थात झन्डै १५,००० रुपैयाँ तोकेको छ ।

खोप निर्माण गर्न चीन दृढ देखिन्छ । विश्वभर अन्तिम चरणका परीक्षणमा रहेका ६ वटा खोपमध्ये ३ वटा चिनियाँ खोपहरु हुन् । विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य शर्त हो । तर, चीन आफ्नै देशमा आवश्यकताअनुसार खोप परीक्षण गर्ने अवस्थामा छैन किनभने कोरोना भाइरसलाई त्यहाँ सफलतापूर्वक नियन्त्रण गरिएको छ ।

“सबै खोप निर्माताहरू हजारौं व्यक्तिमाथि गरिने तेस्रो चरणको परीक्षणका लागि कोरोना भाइरस सङ्क्रमण उच्च भएका स्थान खोजिरहेका छन्,” हङ्‍कङ यूनिभर्सिटी पब्लिक स्कूल अफ हेल्थका प्राध्यापक बेन काउलिङले बताए ।

उनी चिनियाँसहित अहिले विकास भइरहेका खोपप्रति सकारात्मक छन् । “मलाई लाग्छ अहिले तेस्रो चरणमा परीक्षण भइरहेका खोपहरू प्रभावकारी हुने धेरै राम्रो सम्भावना छ ।”

रुस र अमेरिकी राष्ट्रपति कार्यालयका केही व्यक्तिले चाहेजस्तो चीन पनि एक कदम अगाडि बढेको छ । चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले गत साता जुलाईदेखि चीनका प्रमुख सरकारी कर्मचारीहरू माथि खोपको गोप्य परीक्षण गरिएको बताएका थिए ।

नेश्‍नल हेल्थ कमिसनका जेङ जोङ्वेईले सरकारी टीभीमा आफूहरूले आपत्‍कालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासक्रममै रहेका खोप दिएको बताएका छन् ।

“डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन् । तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन,” प्राध्यापक काउलिङले भने । उनको विचारका सन् २०२१ को सुरुतिर सबै नागरिकलाई कोभिड-१९ को खोप दिन सकिन्छ ।

चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौं व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ । त्यो सरकार र औषधि कारखानाहरू बीचको विश्वव्यापी सहकार्यको अङ्ग रहेको छ ।