कार्यदलको प्रतिवेदन कार्यान्वयनबारे ओली–प्रचण्डबीच छलफल शुरू

कार्यदलको प्रतिवेदन कार्यान्वयनबारे ओली–प्रचण्डबीच छलफल शुरू
Spread the love

 

 काठमाडौं, भदौ ९  (ई-रैवार)

कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनबारे नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरू भएको छ । ओलीलाई भेट्न प्रचण्ड मंगलवार बिहान बालुवाटार पुगेका हुन् ।

नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले शनिवार आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । प्रतिवेदनमा दुई अध्यक्षले समान धारणा बनाएपछि सचिवालय बैठकमा लैजाने सहमति भएको थियो ।

अध्यक्षद्वयहरूबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय भएको छ । आजको अध्यक्षद्वयको बैठकले सचिवालयको मिति तय गर्ने सम्भावना पनि रहेको स्रोतले जानकारी दियो ।

सचिवालय बैठकमा सहमति गरेर प्रतिवेदन स्थायी कमिटी बैठकमा लगेर अनुमोदन गरिने छ । कार्यदलले मन्त्रिपरिषद् पुनर्गठनलगायत विभिन्न सुझाव दिएको छ ।

पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वको कार्यदलले अध्यक्षद्वयलाई  बुझाएको प्रतिवेदनलाई दुई अध्यक्षले आवश्यकताअनुसार परिमार्जन गरेर प्रस्तावको रूपमा सचिवालयमा लैजाने, सचिवालयले अनुमोदन गरेपछि स्थायी कमिटीमा पेस गर्ने कार्यसूची रहेको छ ।

स्थायी कमिटीको बैठक गत साउन १८ गतेदेखि अवरुद्ध रहँदै आएको छ ।