कांग्रेसको निर्वाचन समितिले भन्यो- १३ जिल्लामा वडा अधिवेशन असोज ५ मा असम्भव

Spread the love

काठमाडौँ, असोज ३ (ई-रैवार)

नेपाली कांग्रेसको निर्वाचन समितिले असोज ५ मा बाँकी १३ जिल्लाको वडा अधिवेशन गर्न नसकिने स्पष्ट पारेको छ। दुई दिन पछि हुने वडा अधिवेशनका लागि हालसम्म क्रियाशील सदस्यता सूची प्रकाशित नभएको हुँदा उक्त दिन बाँकी जिल्लामा वडा अधिवेशन गर्न नसकिने समितिले जनाएको हो ।

निर्वाचन समिति सदस्य तेज रावलले भने, ‘१३ जिल्लाको क्रियाशील सदस्यताको सूची अहिलेसम्म प्राप्त भएको छैन। नामावली प्राप्त भएको दिनबाट कम्तिमा हामीलाई पाँच दिन आवश्यक पर्दछ।’

वडा अधिवेशन गर्नका लागि निर्वाचन अधिकृत खटाउन र प्रशिक्षण गर्न समय अपुग हुने समितिले जानकारी गराएको छ। क्रियाशील सदस्यता टुंगिन प्रदेश २ का ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको  बाँकी छ।

हिजो  (शनिबार) ती जिल्लाको क्रियाशील सदस्यताको टुंगो लगाउने सहमति बनेको थियो। शुक्रबार शीर्ष नेतासहित क्रियाशील सदस्यता विवाद टुंगो लगाउन बनेको कार्यदलबीच छलफल भई शनिबार नामावली प्रकाशन गर्ने सहमति बनेको थियो।

१३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो नलागेपछि ७ जिल्लामा मात्रै मंगलबार वडा अधिवेशन हुने भएको छ। भदौ ३० सूची प्रकाशित भएका काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुने भएको छ।

असोज ५ मा वडा अधिवेशन हुन नसकेका जिल्लामा गाउँ/नगर अधिवेशनको मिति पनि प्रभावित हुने सम्भावना छ। गाउँ/नगर अधिवेशन असोज ९ मा हुने गरी मिति तय गरिएको छ। सातौंपटक संशोधन गरिएको कार्यातालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन असोज १२ का लागि तोकिएको छ।