धनगढी : सुदूरपश्चिम प्रदेशमा आज ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २५० जना मध्ये ३ सय ७१ जना एन्टिजेन र १ सय ९४ जनाको पीसीआरमार्फत परीक्षण गर्दा ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आज थपिएकामध्ये १ सय ६८ जना संक्रमित भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ८७, गड्डाचौकी नाकाबाट आएका ७४, जुलाघाटबाट आएका ५ र पुलघाटबाट फर्केका दुईजनामा संक्रमण पुष्टि भएको छ।
आज सुदूरपश्चिमका नाका भएर १ हजार ५५४ जना स्वदेश फर्केका छन्। योसंगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या ३ हजार ३ सय ९३ जना रहेको निर्देशनालयले जनाएको छ। सबैभन्दा बढी कैलालीमा १ हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन्।
कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज मात्रै थप एक सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दुई सय ८२ जनाको परीक्षण गर्दा एक सय ६४ जनामा संक्रमण पुष्टि भएको छ।
अस्पतालमा अहिले १० जना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार गम्भीर प्रकृतिका तीन जनाको आइसियू र एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज भएका छन्।


